भारतीय सेना दिवस मनाइयो

समाचार

काठमाडौं। भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले एक औपचारिक भोजको आयोजना गरेको थियो।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।

नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा अशोक राज सिग्देल सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे ।

भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महारथी अशोक राज सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीेलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७ औं सेना दिवसको शुभकामना व्यक्त गरे ।

दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै वहाँले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे ।

भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरेका हुन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ