पत्रकार महासंघ बर्दियामा पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

समाचार

बर्दिया । नेपाल पत्रकार महासंघ बर्दियामा कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका छन् ।

“प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार“ भन्ने मुल नारा सहित महासंघद्वारा आयोजित नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा बर्दियाको गुलरिया ७ निवासी पृथ्वी विचारक देवकमलले १ लाख १ हजार १ सय ११ रूपैयाँ रकम हस्तान्तरण गरेर “पृथ्वी पत्रकारिता पुरस्कार” अक्षयकोष स्थापना गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृषि पत्रकार देवकमलले बर्दियाका पत्रकारहरूको सम्मान स्वरूप रकम हस्तान्तरण गरेको धारणा व्यक्त गरे ।

उनले सम्पूर्ण जेहेन्दार तथा लगनशिल पत्रकारहरुलाई राष्ट्र हित निम्ति खोज मुलक समाचार लेख्न यस पुरस्कारले उत्प्रेरित गर्ने अपेक्षा सहित अक्षयकोषको स्थापना गरिएको बताए ।

वि. सं. २०६५ सालदेखि बर्दियामा नागरिकस्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु, सरकारी गैर सरकारी संघसंस्थाहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान र गुलरियामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक निर्माणमा समेत योगदान पुर्याएकाले संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आफुलाई पृथ्वी पुरस्कारबाट सम्मान गरेको जानकारी गराउँदै उनले बर्दियाका संचारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा हौसला प्रदान गर्न अक्षयकोषको रकममा प्राप्त हुने बैंक व्याजबाट प्रत्येक बर्ष कार्यक्रमको आयोजना गरी उत्कृष्ट एक जनालाई सो पुरस्कार दिईने कुरा जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले देशको सीमा, इतिहास र गौरव जोगाउन पत्रकारको महत्वपूर्ण भुमिका रहने बताए । उनले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको हामी सबैले सम्मान गर्नुपर्ने बताउँदै उनको दिव्य उपदेशलाई हामी सबैले अबलम्वन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा विशेष अतिथि निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले पृथ्वी विचारक देवकमलको यस कार्य प्रति सम्मान व्यक्त गर्दै पत्रकारहरूले बिना भेदभाव तथा बिना पक्षपात न्यायका लागि कलम चलाउनुपर्ने बताए ।

महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बर्दियाका निवर्तमान अध्यक्ष यादव आचार्य, पत्रपत्रिका संजाल बर्दियाका अध्यक्ष कृष्ण भण्डारी लगायत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ