मधेशी दलहरुको खुल्ला गठबन्धनलाई जनमतका उपाध्यक्ष ई.साहको ९ बुँदे सुझाव

समाचार

काठमाडौं । तराई–मधेशकेन्द्रित आठ दलीय खुल्ला गठबन्धनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले ९ बुँदे सुझाव दिएका छन् ।

मधेशी दलहरूको खुल्ला गठबन्धन यदि बनेमा, यसले मधेशको राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकारहरूका लागि बलियो अवाज उठाउने अवसर दिने उनको दाबी छ ।

यस्ता छन् गठबन्धनले गर्नुपर्ने कार्यहरूः

१. “एक मधेश, एक प्रदेश“ को पुनः माग उठाउने

— संविधान संशोधनको पहल

— संघीयताको पूर्ण कार्यान्वयनको माग

२. पुराना सम्झौताहरूको कार्यान्वयनको माग

— फोरम, थारुवान, जनमत, मधेशी गठबन्धनले अघिल्लो सरकारहरूसँग गरेका सम्झौताहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने

— लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब सिर्जना गर्ने।

— झुठा मुद्दा र राजनैतिक मुद्दामा हिरासतमा रहेका मधेशी, थारुनेताहरुलाई रिहा गर्न प्रक्रिया शुरु गर्न लगाउने ।

३. मधेशको आर्थिक समस्या समाधान गर्ने पहल

— स्वरोजगार, उद्यमशीलता, र रोजगारीका अवसरहरू बढाउने नीति ल्याउन सरकारलाई बाध्य पार्ने

— कृषि, व्यापार, र उद्योगमा लगानी वृद्धि गर्ने पहल गर्ने

४. शिक्षा प्रणाली सुधार

— मधेशका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको सुनिश्चितता

— शिक्षक–बिद्यार्थी अनुपात मिलाउने पहल

५. मलखाद संकटको समाधान

— ५०औ वर्षदेखि यथावत रहेको मलखाद समस्या समाधान गर्न सरकारलाई बाध्य पार्ने

— मलखादको आयातमा निर्भरता घटाउने र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने नीति निर्माण गर्ने, मधेशमा मलखाद कारखाना स्थापना गर्ने सरकारलाई बाध्य पार्ने।

६. स्थानीय उत्पादनको बजार पहुँच सुनिश्चित गर्ने

— किसानहरूले उत्पादन गरेको वस्तु सहज रूपमा बजारसम्म पु¥याउन आवश्यक नीतिगत परिवर्तन गराउने

— नेपाल प्रहरीले किसानहरूको उत्पादन जफत गर्ने कार्य तत्काल रोक्न दबाब सिर्जना गर्ने

७. सरकारी संरचनामा मधेशीको उचित प्रतिनिधित्वको पहल

— न्याय प्रणाली, प्रशासन, सुरक्षा निकायमा मधेशीहरूको समावेशीकरण

— संघीय सरकारमा मधेशीहरूका लागि समान अवसर सुनिश्चित गर्न कानुनी पहल गर्ने

८. संघीयता संस्थागत गर्न नीतिगत एकता र सहकार्य

— प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन कानुनी र व्यवहारिक कदम चाल्ने

— मधेशी दलहरूबीच न्यूनतम साझा एजेन्डा बनाएर अघि बढ्ने

९. तराई मधेशको ’डेमोग्राफी’ सुरक्षित राख्न पहाडबाट मधेश झरेका सुकम्बासी जनताहरुलाई पहाड मै जग्गा दिने ब्यवस्था गर्न गराउन पहल गराउनु पर्ने। पहाड पुरै खाली र बाँझौ हुन लागेकोले उक्त कदम चाल्न सरकार लाई बाध्य पार्नु पर्ने।

यदि मधेशी दलहरू एकताबद्ध भएर ठोस रणनीति बनाएर अघि बढे, तिनीहरूको माग पूरा हुने सम्भावना उच्च छ। तर यसका लागि एकता, दीर्घकालीन सोच, र संगठित आन्दोलन आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ