काठमाडौं । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समूहले आन्दोलनको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्।
पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पद यात्रा गर्ने बताएका छन् । आन्दोलनको कार्यक्रम मध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ ।
उनले बोल्ने क्रममा भने, ‘फागुन ८ गते समाजिक न्याय दिवस हो त्यस अवसरमा मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति म त्यहाँ जान्छु, तपाईंहरु पनि जाओ र विशाल पद यात्रा गरौं । अब लिम्बू एक्लै लडदैन, अब कुनै समुदाय एक्ला एक्लै लडनु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन । छुट्टाछुट्टै लडोस भनेर नै कोहि कोहि बहारियाहरु यो आन्दोलनमा आउनु भन्ने भाष निर्माण गर्न खोज्दै छ तर अब त्यो हुदैन। अब हामी मिलेर लडछौं ।’
उनले भने, ‘अहिलेको सरकार निरंकुश तर्फ अघि बढेको छ । बोल्न पाइदैन भन्ने आसयको कानुन ल्याउन खोज्दै छ, माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपुर्ण संघर्ष गर्नेहरू उपर गोली चलाउने यी सबै निरंकुशताको उधारण हो । अब वार्ता सार्तामा बोलाइरहनु जरुरी छैन, त्यहाँ केवलकार बन्दैन निर्णय गरे पुग्छ ।’
उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थिए । सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए । अबको आन्दोलन अझै सशक्त हुने उनले बताए ।
आन्दोलनकारीले केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन् ।
यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया