जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच वटा अध्यादेशमा मतदान गर्ने

समाचार

काठमाडौं । नेपाल सरकारद्वारा संघीय संसदको दुवै सदनमा दर्ता गराएको ६ वटा अध्यादेशहरुमध्ये “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश”लाई समर्थन नगर्ने जनता समाजवादी पार्टी, नेपालले निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित जसपा नेपालको बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारद्वारा ६ वटा अध्यादेशहरू जारी गरी अनुमोदनका लागि प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा दर्ता गरिएका छन् । सरकारले जारी गरेको अध्यादेशहरू मध्ये “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश“ विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्ने वा बाड्न ल्याईएको देखिन्छ ।’

भूमिसम्बन्धी अध्यादेशप्रति गम्भीर असहमति र विरोध जनाउँदै अध्यक्ष यादवले उक्त अध्यादेशले घरजग्गा व्यवसाय, अव्यवस्थित बसोबास, जग्गा विकास गरी घडेरी वा त्यस्तो घरेडीमा घर निर्माण गरी बिक्रि वितरण गर्ने भनि सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनारको जग्गा, वन, राष्ट्रिय निकुन्ज तथा आरक्षणको जग्गा, गौचर हाट, हाटघाट वा बजारको जग्गा, सडक छेउको जग्गा, वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जनिएको जग्गा, बुट्यान क्षेत्र जनिएको जग्गाका साथै राष्ट्रिय वन जंगल अतिक्रमण गरी, फडानीगरी अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई बाड्ने लगायतका कार्यहरुवाट वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथ आन्तरिक बसाई सराई तथा आप्रवाशनमा अत्याधिक बृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्दको सृजना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुन सक्ने सम्भावना छ । चुरिया क्षेत्रमा समेत यसबाट गम्भीर असर पर्न जानेछ, जसबाट तराई ÷ मधेश मरुभूमिकरणमा परिणत हुने उल्लेख गरेका छन् ।

यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिशन खोर, विचौलिया दलाल, सरकार नजिक रहेका व्यक्तिहरु, भू–माफीयाहरू र ठूला रियल स्टेट व्यापारीहरुका साथै आवाश कम्पनिहरुलाई नै अत्याधिक लाभ हुने जसपा नेपालको दाबी छ ।

‘सरकारले भूमिहीन दलित, भूमिहीन र गरिब सुकुम्वासी र अव्यवस्थित बसोबास आदिको समस्या समाधान गर्न चाहने हो भने नेपालको प्रचलित ऐन कानुनमा प्रर्याप्त व्यवस्था रहेको छ । सरकारले उनीहरुको समस्याको समाधान गर्नु पर्दछ । सरकारले गर्न पनि सक्दछ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

“भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश“ दीर्घकालिन रूपमा देश र समग्र राष्ट्रको हित विपरित रहेको ठहर गर्दै अध्यक्ष यादवले जसपा नेपाल यो अध्यादेशको विरोधमा उभिने र यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनाएका छन् । यसका अतिरिक्त अन्य ५ वटा अध्यादेशहरुलाई समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने जसपा नेपालको संसदीय दलको निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ