राकेश यादव, रौतहट । श्रमजीवी पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटले मंगलवार जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री र संचारमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
नेपाल सरकारले ल्याउन लागेका सामाजिक संजाल नियमन सम्बन्धी अध्यादेश तथा मिडिया काउन्सिल विधेयक खÞारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ नेपालले ज्ञापन पत्र बुझाएको हो ।
नेपालको संविधानमा प्रेस स्वतंत्रता, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि अहिलेको सरकारले आम नेपाली जनताको बोल्ने तथा संचारकर्मीको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने उद्देश्यले ल्याउन लागेको मिडिया काउन्सिल र सामाजिक संजाल नियमन विधेयक संशोधन गर्नु पर्ने ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
जिल्ला अध्यक्ष संतोष पौडेलको नेतृत्वमा ‘मलाई बोल्न देऊ सरकार, मलाई लेख्न देऊ सरकार, मिडिया काउन्सिल विधेयक खारिज गर, सामाजिक संजाल नियमन सम्वन्धी अध्यादेश संशोधन गर’ जस्ता नारा लेखिएको प्ले कार्डसहित घण्टाघर चौकदेखि मुखमा कालो टेप लगाएर निस्केको विरोध रैली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रशासकीय अधिकृत मनिष झालाई ज्ञापन पत्र बुझाएको जिल्ला सचिव अभिमनु कुमार पटेलले जानकारी दिएका छन् ।
ज्ञापन पत्रमार्फत उठाइएको माग सरकारले सम्बोधन नगरे सरकारको विरुद्ध चर्को प्रदर्शन गर्ने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।
विरोध रैलीमा संघका जिल्ला उपाध्यक्ष राकेश कुमार यादव, सहसचिव मोहम्मद मोजिबुल्ला, समावेशी सहसचिव सोनू कुमार महतो, वरिष्ठ सल्लाहकार रविन्द्र प्रसाद साह, सल्लाहकार चन्दन कुमार महतो, अरविन्द कुमार यादव, जिल्ला सदस्य दिलीप पाण्डेय, अरमान कुमार उपाध्याय, राधेश्याम साह लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया