प्रादेशिक अस्पताल गौर ७७ बाट देशकै टपटेनमा

समाचार

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल पहिलो पटक ७७ औ स्थानबाट उक्लिएर देशकै टपटेनमा पर्न सफल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका एमएसएस न्यूनतम् सेवा मापदण्ड शाखाले गरेको स्कोरिंगमा प्रादेशिक अस्पताल गौर देशको १०औं तथा मधेश प्रदेशको पहिलो नम्बरमा स्थान हासिल गर्न सफल भएको हो ।

प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले देशभरिमा रहेका ५० शैय्याको अस्पतालमा स्कोरिंगमा प्रादेशिक अस्पताल गौर ७७औं स्थानबाट टप १० मा पर्न सफल भएको बताएका छन् । गएको वर्ष दोस्रो स्थानमा रहेको प्रादेशिक अस्पताल गौर यस वर्ष पहिलो नम्बरमा परेकोमा आफु निकै हर्षित भएको बताए ।

प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष मो. अनवर हासमीको प्रयास, कर्मचारीहरुको मिहिनेतले यो स्थान प्राप्त गर्न सफल भएको उनको भनाइ रहेको छ । दुई दिनको छड्के अनुगमन निरीक्षणको क्रममा ८९ प्रतिशत मार्क आएको उनले बताए ।

७ सयभन्दा बढी इन्डिकेटर पूरा गर्नुपर्ने हुन्छ भन्दै हामीले ९० भन्दा बढी अंक ल्याउने लक्ष्य राखेका थिए तर केहि समस्याको कारण अंकमा कमी आएको सुनाए । देशभरिमा पहिलो स्थानमा भक्तपुर अस्पताल ९८ प्रतिशत अंक प्राप्त गरेर पहिलो स्थानमा रहेका छन् । दोश्रो स्थानमा बर्दिया अस्पताल ९७ प्रतिशत, कपिलबस्तु अस्पताल ९४ प्रतिशत, धादिङ अस्पताल ९४ प्रतिशत अंक प्राप्त गरेर चौथो स्थानमा रहेको छ ।

पाँचौ स्थानमा भीम अस्पताल ९४ प्रतिशत, छैठौं स्थानमा गुल्मी अस्पताल ९१ प्रतिशत, सातौंमा उदयपुर अस्पताल ९० प्रतिशत, आठौंमा पृथ्वीचन्द्र अस्पताल ९० प्रतिशत, नवौ स्थानमा अर्घाखाँची अस्तपाल ९० प्रतिशत तथा दशौं स्थानमा ८९ प्रतिशत अंकका साथ प्रादेशिक अस्पताल गौर रहेको छ ।

एमएसएस शाखाले सरकारी, क्लिनिकल र सहयोगी भनी तीन किसिमका सेवाको मापदण्ड अनुसार स्कोरिंग गर्ने गरेको मेसु ठाकुर बताए ।

अस्पतालमा बिरामीहरुको लागि सेवा प्रवाह, उपकरण, सरसफाई, बस्ने व्यवस्था, एम्बुलेंस, कार्यालय प्रमुख स्तरीय निर्णय, व्यवस्थापन, स्टोरको भण्डारण सहितको विभिन्न इन्डिकेटरहरुको अनुगमन गर्दै मार्क दिने गरिन्छ ।

अस्पताल विकास समितिका अध्यक्ष हासमीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पताल गौरसँग विभेद गरेको आरोप समेत लगाएका छन् ।

सिटी स्क्यान मेसिन उपलब्ध गराउन पटक–पटक आग्रह गर्दा पनि मन्त्रीले कुनै वास्ता नगरेको दुखेसो पोखेका छन् । मन्त्रालयले बजेट विनियोजन गरेपनि प्रादेशिक अस्पताल गौरलाई समयमा बजेट नदिदा कार्य गर्न समस्या हुने गरेको भनाइ उनको रहेको छ । पहिलाको तुलनामा प्रादेशिक अस्पतालको व्यवस्थापनमा निकै सुधार आएको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ