आठ दलीय ‘लूज एलायन्स’ देश र जनताको पक्षमा : त्रिपाठी

समाचार

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित आठ दलीय भइरहेको नरम गठबन्धन (लूज एलायन्स) देश र जनताको पक्षमा रहेको प्रष्ट्याएका छन् । अध्यक्ष त्रिपाठीले मंगलबार एक विज्ञप्ति जारी गरी लूज गठबन्धनको सकारात्मक दुरगामी र सन्तोसजनक कदम रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यो प्रकृया कार्यदल र कार्यदलले गठन गरेको मस्यौदा समितिले तयार गर्ने साझा मस्यौदा नेतृत्वबाट अनुमोदित भएपछि थप प्रभावकारी हुने पार्टी विश्वास गर्दछ । यस कदमले कार्यकर्ता र जनतामा नयाँ उत्साह सञ्चार गरेको सर्वविदित छ । शुभारम्भदेखि नै यस कार्यले समग्र देशको राजनीति र विशेषतः तराई मधेशको राजनीतिलाई सकारात्मक योगदान गरिरहेको तथ्यप्रति पार्टी सन्तोष व्यक्त गर्दछ ।’

यसै क्रममा नेपाल सरकारद्वारा जारी अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २०% भन्दा बढी मुनाफा लिन बन्देज रहेको ऐनको प्रावधानलाई विस्थापित गरी सो प्रावधान हटाउने कार्य भएको अध्यादेशले देशव्यापी बहस तीव्र आलोचनाको केन्द्रबिन्दु रहेको छ ।

उक्त अध्यादेशहरुको व्यवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस नरम गठबन्धन (लूज एलायन्स) को महत्त्वपूर्ण अङ्गको रूपमा रहेका सर्वप्रथम जनता समाजवादी पार्टी, नेपालले लिएको दृष्टिकोण र तत्पश्चात लोकतान्त्रिक समाजवादी पार्टीले अख्तियार गरेको दृष्टिकोणले देशव्यापी सकारात्मक सन्देश प्रवाह मात्र गरेन कि सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्र को संरक्षण गर्न उपरोक्त दलहरूको निर्णयले महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

‘जनता प्रगतिशील पार्टी, नेपाल यस उपरोक्त कदमको उच्च प्रशंसा गर्दछ,’ उनले थपेका छन्, ‘आठ दलीय नरम गठबन्धन (लूज एलायन्स) कुनै पार्टी विशेषको विरुद्धमा नभई सदैव देश र जनताको पक्षमा रहनेछ । शिशु अवस्थाम रहेको उक्त नरम गठबन्धन (लूज एलायन्स) आगामी दिनमा थप एकताबद्ध भई थप प्रभावशाली हुने र नेपाली राजनीतिलाई सृजनात्मक तथा सकारात्मक योगदान दिने पार्टीको विश्वास छ ।’ त्रिपाठीले विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ