राकेश यादव, रौतहट । लैण्ड पुलिंगको नाउँमा जग्गा ठगी गरेको भन्दै फिर्ता गर्न स्थानीय जग्गादाताहरुले सामूहिक रुपमा शुक्रबार मौलापुर नगरपालिका, मालपोत कार्यालय र नापी कार्यालयमा निर्णय सहितको ज्ञापन पत्र बुझाएका छन् ।
मौलापुर नगरपालिका वडा नम्बर ३, ४, ५ मा ४ सय किसानबाट करीब ८५ बिघा जग्गा लिएर गरिएको लैण्ड पुलिंग योजनामा जानकारी नदिई बढी जग्गा लिएको भन्दै मौलापुरका २३६ जना किसानले सामूहिक रुपमा लिएको जग्गा फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधुमन बैठा, गौरी शंकर साह, रामाशंकर रजक, सर्फलाल यादव, शिवमंगल राय यादवसहितको स्थानीय जग्गादाताहरुको टोलीले पुस २७ गते सामूहिक भेलाबाट गरेको निर्णयको प्रतिलिपिसहित मौलापुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहलाई ज्ञापन पत्र बुझाएको हो ।
मौलापुर नगरपालिका वडा नम्बर ३, ४ र ५ का २३६ जग्गाधनीको भेलाले मौलापुर जग्गा एकीकरण आयोजनामा पर्ने जग्गाको सडक र सरकारी कार्यालयका लागि बढी प्रतिशत जग्गा कट्टा गरेको, जग्गाको ठाउँ हेरफेर गरेको र जग्गा एकीकरण आयोजनामा भएको खर्च पारदर्शिता नगरेको निर्णय गरी कार्यान्वयनका लागि मौलापुर नगरपालिका, मालपोत कार्यालय र नापी कार्यालय ज्ञापन पत्र बुझाएको पीडित रामाशंकर रजकले बताएका छन् ।
नगरपालिकाले जग्गा एकीकरण गर्ने बेला १० देखि २० प्रतिशत कट्टा गर्ने भनेकोमा झुक्याएर ३० देखि ५० प्रतिशत जग्गा कट्टा गरेको आरोप उनीहरुको रहेको छ । संघीय सांसद प्रभु साहले लैण्ड पुलिंगको नाउँमा किसानहरुसँग जग्गा लिएर नगरपालिकाको नाउँमा ८ बिघा जग्गा गराएको दावी पीडित किसान सर्फलाल यादवले गरे ।
सडक, नाला, विद्युतीकरण गर्ने भनी वाचा गरेर जग्गा लिएको र अहिलेसम्म केही नगरेको र भनेको बमोजिमभन्दा बढी जग्गा कटौती गरेकोले आयोजना नै खारिज गरी जग्गा फिर्ता गर्नुपर्ने माग गरे ।
प्रधुमन बैठाले जग्गा एकीकरण आयोजनाको नाउँमा लाखौं रकम अनियमितता गरेको आरोप लगाउँदै एकीकरण गरिएको जग्गामा पूर्वाधार विकासको नाउँमा नगरपालिकाद्वारा गरिएको खर्चको पारदर्शिता गर्नुपर्ने माग समेत गरे ।
जग्गा लैण्ड पुलिंगको लागि बनाइएको जग्गा एकीकरण समितिसँग यो विषयमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले प्रतिबद्धता जनाएका छन् ।
बढी जग्गा कटौती गरेकोले फिर्ता गर्नका लागि दयाशंकर साह, उमाकान्त महतो, चन्द्रप्रकाश साह, सत्यनारायण राउत कुर्मी, राम प्रवेश साह, ललन साह, दयाशंकर बैठा, शिवमंगल यादव, जय किसुन बैठा, गान्धी दास पटवा, रूपनारायण साह, राम अयोध्या यादव, बैजनाथ ठाकुर, शिवशंकर तिवारी, सुरेन्द्र साह, राम विलास साह, जय नाथ ठाकुर लोहारले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, रंजीत पटेल, नन्दलाल पटेल ब्रह्मदेव साह, नन्दकिशोर बैठा, सोनेलाल राय यादव, नागेन्द्र प्रसाद कुशवाहा, स्नेही राय, बुधराम महतो, बिजली राय यादव, संजय बैठा, विश्वनाथ ठाकुर, विजय कुमार बैठा, दामोदर बैठा, उर्मिला देवी, रामेश्वर बैठा, सागर बैठा, सुशीला देवीसहित २३६ जनाले झुक्याएर बढी लिएको जग्गा फिर्ता गर्नु पर्ने निर्णयमा सहभागिता जनाएका हुन् ।
तपाईको प्रतिक्रिया