भेटघाट र सम्मानको तस्बिरलाई अपवाह फैलाइयो : उपाध्यक्ष चौधरी

समाचार

काठमाडौं । समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको भन्ने अपवाह फैलाइएको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “भेटघाटका क्रममा खिचिएको तस्बिरलाई गलत सन्दर्भमा प्रयोग गरी म जसपा नेपाल छोडेको भन्ने भ्रम फैलाइएको छ, जुन सत्य होइन ।”

उनका अनुसार, बिहीबार जसपा नेपालबाट अलग भएका असन्तुष्ट नेताहरू रेणु यादव, प्रतिनिधि सभा सदस्य बिरेन्द्र प्रसाद महतो र नेता अशोक यादवले आफूलाई भेट्न निम्त्याएका थिए ।

उनले स्पष्ट पारे कि उनी पूर्व शीर्ष नेताहरूसँग केवल भेटघाट गर्न गएका थिए, कुनै नयाँ पार्टीमा प्रवेश गर्ने मनसायले होइन ।

चौधरीले थपे, “भेटघाटपछि खिचिएको सम्मानको तस्बिर सामाजिक सञ्जालमा प्रचार गर्दै असन्तुष्ट नेताहरूसँग मिलेर म नयाँ दलमा प्रवेश गरेको झूटो हल्ला फैलाइएको छ। यस्ता गैर–राजनीतिक गतिविधिहरूप्रति म गम्भीर आपत्ति जनाउँछु ।”

यसका साथै उनले यस्ता भ्रामक समाचारहरूको खण्डन गर्दै भने, “यस्तो प्रचारले ती नेताहरूको बाँकी रहेको थोरै सम्मानसमेत गुमाएको छ ।”

उनले आफू अझै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र यसको भातृ संगठन समाजवादी युवा संघ नेपालमै रहेको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ