आन्दोलन र संघर्षको निम्ति विचार मिल्नेहरुसँग बृहत मोर्चाबन्दी गरिने : महतो

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिलाई सफल बनाउनका लागि समान धारणा र विचार मिल्ने पार्टी, संगठनहरुसँग मोर्चाबन्दी गर्ने बताएका छन् ।

रामुपाले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, बिटौरी जग्गा सम्बन्धि देशभर रहेको समस्या विरुद्धको संघर्ष, दलित(शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगीरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको निष्कर्ष निकालेका हुन् ।

साथै राज्यको एकल नश्लीय चरित्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको छ ।

देशमा विद्यमान सबैखाले समस्याबाट मुक्त हुन, व्याप्त निराशाबाट छुटकारा पाउन, ध्वस्त भैसकेको अर्थतन्त्रलाई उकास्न, आफ्नो सभ्यता, सँस्कृति, दर्शनलाई जोगाउने कार्यमा अग्रसर र एकमात्र विकल्पको रुपमा अगाडि बढेको यस पार्टीमा प्रवेश गर्न तथा पार्टीको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउन आर्थिक सहयोगको लागि समेत आम जनतालाई सार्वजनिक रुपमा आह्वान गरिएको छ ।

पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई १५ दिन भित्र सम्पती विवरण भरी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ । पार्टी अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि आएको सुझावहरुलाई समावेश गरि पारित गरिएको छ ।

फागुन १२ र १३ गते दुई दिनसम्म पार्टी अध्यक्ष महतोको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरुद्वारा आ–आफ्नै मौलिक भेषभुषामा सजिएर १८ वटा मातृभाषामा पद तथा गोपनियताको सपथ लिने कार्य भएको थियो । जस अन्तर्गत नेपाली, सुर्जापुरी, खस, राजवंशी, बज्जिका, गुरुङ(तमु), थारु, अवधी, मैथिली, मगर(खाम), हिन्दी, नेपाल, भोजपुरी, उर्दु, मगही, तामाङ, थुलुङ(राई), लिम्बु भाषा गरि १८ भाषामा सपथग्रहण गर्ने कार्य भएको छ ।

परिवर्तित विश्वब्यबस्थाको प्रभावले आन्तरिक रुपमा गम्भीर संकट उत्पन्न हुनेगरी बहुआयामिक दबाब सृजना भएको छ । त्यो दबाबले निम्त्याएको संकटको सामना गर्न मौजुदा राज्य ब्यबस्थाको आन्तरिक शक्ति अत्यन्तै क्षिण अवस्थामा छ । बिगत देखि नै राज्यको एकल नस्लिय चरित्रले गर्दा चुनौती सामना गर्न सक्ने राज्यको शक्ति अत्यन्तै क्षिण थियो नै विश्व महाशक्तिहरु बिचको शक्ति प्रतिस्पर्धाको कारण सृजित संकटबाट मुलुकलाई बचाउन मुजुदा परनिर्भर राज्यले सामना गर्न सक्दैन भन्ने रामुपाको ठहर छ ।

यस्तो संकटको बेला मुलुक भित्रका आफ्नै जनताहरु तथा बाहिरका असल मित्र शक्तिहरु माँझ बिश्वाश आर्जन गर्दै संकट समाधानको निम्ति एकीकृत पहलकदमी लिनुपर्ने वर्तमानको टड्कारो आवश्यकतालाई नजर अन्दाज गर्दै नेपाली कांग्रेस तथा नेकपा एमाले लगायत गठबन्धन दलहरु आफ्नो निहित स्वार्थ रक्षार्थ अगाडी बढेकोले संकट समाधान गर्नु त परको कुरा भयो आन्तरिक रुपमा झन् विभाजन पैदा गरेको छ ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा ‘देश असफलता तर्फ उन्मुख भएको छ । यस्तै समस्या आउछ भनेर नै २०७२ को संबिधानबाट “बनाउने नेपाल सबै नेपालीकालागी“ भन्ने हाम्रो ध्येय थियो तर संस्थापन नश्लीय राज्यले नजरअन्दाज मात्रै गरेन, मधेशले उठाएको मांगलाइ निषेध गर्यो, अत्याधिक दमन गर्यो । हालै देखिएको मुक्कुमलुंग, बोझेनी, ढोरपाटन जस्ता समस्या समाधानको सट्टा राज्यले गरेको अत्याधिक दमनले यो संकट झन् गहिरिदै गएको छ, झन् विभाजन पैदा गर्दै गएको छ । राज्यको यस्तो असहिष्णु, हिंसाक ब्यबहारले राज्य प्रतिको अलगाव झन् गहिरिदै जाने निश्चित छ ।’ भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ