राकेश यादव, रौतहट । जिल्लामा विगतको तुलनामा अपराधको घटनामा कमी आएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेको १० महिनाको कार्यकालमा गएको साउनदेखि माघ मसान्तसम्ममा समग्र रुपमा अपराधका घटनामा ३० प्रतिशतले कमी आएको हो ।
जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै प्रहरी उपरीक्षक घिमिरे गम्भीर प्रकृतिकका घटनामा कमी आएको बताए । उनले केहि छिटपुट सानो घटना बढे पनि जघन्य अपराधको घटनामा कमी आएको दावी गरे । घिमिरेले दिएको जानकारी अनुसार गम्भीर प्रकृतिका घटनामा विगत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ५५ प्रतिशतले घटेको छ ।
गत वर्ष माघ महिनासम्म ९ वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो भने यस वर्ष अहिलेसम्म ४ वटा मात्र मुद्दा दर्ता भएकोले संख्याका कमी आएको उल्लेख गरे । जवरदस्ती करनीको घटनामा ४० प्रतिशत घटी भएको छ । पहिला २२ वटा घटना दर्ता भएको थियो भने अहिले ११ वटा मुद्दा दर्ता भएको छ । गत वर्ष माघ महिनासम्म ५४४ घटनाको मुद्दा दर्ता भएकोमा यस वर्ष अहिलेसम्म ३९२ वटा मुद्दा दर्ता भएको छ ।
अभद्र व्यवहार र हातहतियार सम्बन्धी घटना बढेको बताउँदै प्रहरी उपरीक्षक घिमिरेले साउनदेखि माघसम्म ६ वटा हातहतियारको घटना दर्ता भएको जनाए । अभद्र व्यवहारको गत वर्ष ५२ वटा मुद्दा दर्ता भएको थियो भने यस वर्ष ६१ वटा मुद्दा दर्ता भएको १७ दशमलव ३० प्रतिशतले बढेको जनाए ।
उनले जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मुद्दामा कैद सजाय भई फरार रहेको ४६० जनालाई पक्राउ गरी ७१ वर्ष ५ महिना २ दिन कैद सजाय र २५ लाख ३६ हजार १ सय ३१ रुपैयाँ जरिवाना असल गरिएको तथ्यांक सुनाए ।
विभिन्न घटना पछि फरार रहेका ३१२ जनालाई पक्राउ गरी कÞानूनी दायरामा ल्याएकोले फरार रहेकाहरुमा त्रास फैलिएको दावी गरे ।
पत्रकारले सोधेको प्रश्नमा प्रहरी उपरीक्षक घिमिरेले रौतहट जिल्ला प्रचार भएको भन्दा फरक पाएको बताए । गलत भ्रामक प्रचारले गर्दा रौतहट असजिलो ठाउँ भएको मात्र देखिएको वास्तबमा त्यस्तो नभएको उल्लेख गरे । उनले भने बाहिर भएकोलाई रौतहट असजिलो ठाउँ भएको लाग्छ तर यहाँ आउँदा काम गर्न निकै सजिलो र सहज रहेको छ ।
प्रहरी उपरीक्षक घिमिरेले थपे पहिला कार्य गरेको ठाउँ ईलामभन्दा सहज रहेको छ । इमान्दारितापूर्वक काम गर्नेको लागि रौतहट निकै सहज र यहाँका आम नागरिक सहयोगी रहेका छन् । लोभ लालच र मोहमा परेर काम गर्नेका लागि असहज भएपनि भनिएको जस्तो रौतहट अति संवेदनशील नभएको जिकिर गरे ।
रौतहटमा काम गर्दा कस्तो चुनौतीहरुको सामना गर्नु पर्यो भन्ने सोधिएको प्रश्नमा प्रहरी उपरीक्षक घिमिरेले भने शुरूमा केहि समय राजनीतिक रुपमा दबाब आएपनि अहिले त्यस्तो अवस्था नरहेको सुनाए । आफूले पाएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर निर्वाह गर्दै केहि जटिल नहुने भन्दै आभाव प्रभाव र दबाबरहित अहिलेसम्म काम गर्दै आएको जनाए ।
आर्थिक शून्य सहनशीलता, प्रहरीको व्यवहारमा परिवर्तन, कार्यलय प्रमुखसँग सहजरुपमा आम नागरिकले भेटेर गुनासो राख्न पाउने व्यवस्था, झूठा जाहेरी दर्ता गराउने प्रचलनको निरुत्साहित, बिचौलिया दलालको प्रतिबन्ध लगाएको कारण अपराधको घटनामा कमी आएको उनको कथन रहेको छ ।
घटनाको विषयमा स्थलगत गहन रुपमा छानबिन अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने कार्यलाई निरन्तरता दिएको कारण झूठा मुद्दा दिने, घटनामा संलग्न नभएको व्यक्ति माथि मुद्दा दिने प्रवृतिमा कमी आएको दावी उनको रहेको छ ।
सीमा नाकाबाट अवैध रुपमा हुने चोरी निकासी तस्करीमा पनि कमी आएको बताए । आम जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने कार्यले अहिले नेपाल प्रहरी माथि रौतहटको जनताको विश्वास बढेको प्रहरी उपरीक्षक घिमिरेले दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया