राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस आयल एन्ड फ्लोर मिल्स नेपाल लिमिटेडको नाउँमा सर्बे नापी भएको जग्गाको विषयमा विवाद चर्किएको छ ।
वर्षौंदेखि सार्वजनिक गर्नु पर्ने विषयमा चर्चा चल्दै आएको उक्त राइस मिलको जग्गाको विषयमा गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले निशुल्क रुपमा दानमा नगरपालिकाले २ बिघा १५ कट्ठा जग्गा खेलकूद मैदानको रुपमा पाइरहेको अभिव्यक्ति सार्वजनिक गरेपछि विवाद चर्किएको हो ।
गौर नगरपालिकाले लिएको निर्णयको पक्ष र विपक्षमा गरी दुई धारमा स्थानीय विभाजित देखिएको छ । कतै नगरपालिकाको निर्णयको समर्थन भैरहेको छ भने कतै विरोध हुने शुरू भएको हो ।
२००३ सालमा स्थापना भई सञ्चालनमा आएको राइस आयल एन्ड फ्लोर मिल्सको नाउँमा २०२१ सालमा सर्वे हुँदा ५ बिघा १९ कट्ठा १५ धुर उद्योगको भवनसहित नाउँमा सर्वे भएको जग्गा मिल बन्द भएपछि वर्षौंदेखि सभा, सम्मलेन, व्यापर मेला, क्रिकेट खेल मैदानको रुपमा प्रयोग हुँदै आएको छ ।
उद्योगको शेयर धनिले बन्द भएको गौर राइस आयल एन्ड फ्लोर मिल्सलाई पुनः सञ्चालनमा नल्याई भएको जग्गा बिक्री वितरण गर्ने चलखेल शुरू गरेपछि सो जग्गा गौर नगरपालिकाको नाउँमा अधिग्रहण गरी खेल मैदानको रुपमा सार्वजनिक प्रयोगका लागि बनाउने उद्देश्यले विगत लामो समयदेखि प्रयास गर्दै आइरहेकोमा संचालक समितिले भोग अनुसार खेलकूदका लागि २ बिघा १५ कट्ठा जग्गा दानमा गौर नगरपालिकालाई पास गर्ने र बाँकी जग्गा बिक्री गर्ने गरेको सहमति नगरप्रमुखले सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले सम्पूर्ण जग्गा मुआब्जा दिएर अधिग्रहण गर्नु पर्छ भने दबाब सृजना गर्ने उद्देश्यले विरोधमा उत्रिएका छन् ।
तत्कालीन प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र मधेश प्रदेशका तत्कालीन पूर्वमुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारले जग्गा अधिग्रहणका लागि भनेर रेड बुकमा १५ करोड रुपैयाँ छुट्याए पनि सो रकम निकासा नदिँदा अहिलेसम्म अधिग्रहण प्रक्रिया ओझेलमा नै परेकोमा संचालक समितिसँगको पटक–पटक छलफल गरी निःशुल्क रुपमा जग्गा दिन त्यार भएकोले बाँकी जग्गा बिक्रीका लागि खुल्ला गर्ने निर्णय कार्यपालिकाको बैठकबाट गरेको भनी मेयर साहको भनाइ रहेको छ ।
प्रदेश सरकारले विनियोजन गरेको रकम नपठाउँदा अधिग्रहण गर्न समस्या भएकोले आपसी समझदारीले दान वापतमा पौने तीन बिघा जग्गा नगरपालिकाले लिन लागेकोले करीब १५ करोड ५६ लाख रकम जोगिएकोले नगरपालिकाले सो बचत भएको रकमबाट क्रिकेटका लागि अन्य ठाउँमा पर्याप्त जग्गा व्यवस्थापन गर्न सहज हुने नगर प्रमुख साहको योजना रहेको छ ।
गौर राइस मिलको नाउँमा सर्वे भएको जग्गामध्ये वर्तमान अवस्थामा १ बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको मेयर साहले दावी गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुखले गरेको निर्णयले नगरपालिकाको आर्थिक बचत भएको भन्दै निर्णयको समर्थनमा रहेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सांसद नागेन्द्र प्रसाद साहको नेतृत्वमा निकालिएको विरोध रैलीले सम्पूर्ण जग्गा गौर नगरपालिकाले अधिग्रहण गर्नु पर्ने भन्दै गौर नगरपालिका र जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।
प्रदेश सांसद साहले संचालक समितिले निःशुल्क रुपमा दिने जग्गा बाहेक बाँकी रहेको जग्गा पनि गौर नगरपालिकाको नाउँमा हुनु पर्ने धरना राखेका छन् । उनले बाँकी जग्गाका लागि दिनु पर्ने रकम प्रदेश सरकारबाट दिलाउनका लागि सरकारलाई दबाब दिने बताउँदै बिक्री वितरणको चलखेल भए ठूलो विद्रोह हुने चेतावनी समेत दिएका छन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले जग्गा बिक्री गर्न पाइदैन भने पक्षमा उभिएका छन् । गौर नगरपालिका वडा नम्बर १ का पूर्ववडा अध्यक्ष भरत साहले दानमा दिइने जग्गा बाहेक बाँकी रहेको जग्गा सरकारी मूल्याङ्कन अनुसार या आपसी सहमतिमा पनि रकम दिएर नगरपालिकाको नाउँमा पास गराउनु पर्ने बताएका छन् । भएको जग्गा पनि सबैले मिलेर सार्वजनिक प्रयोगको लागि गराउनु पर्ने उनको भनाइ रहेको छ ।
गौर नगरपालिका, निर्वाचित संघीय सांसद, प्रदेश सांसदले पहल गरे गौर राइस आयल एन्ड फ्लोर मिल्स नेपाल लिमिटेडको नाउँमा रहेको सम्पूर्ण जग्गा गौर नगरपालिकाको नाउँमा ल्याउन सहज हुने छन् । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समयमा रकम विनियोजन गरी जिल्ला प्रशासन कार्यालय मार्फत हकदावीको सूचना सार्वजनिक गर्न लगाई जग्गा अधिग्रहणको प्रक्रिया टुङ्गो लगाए जग्गा खरीद बिक्री गर्नेको योजना असफल भएर जाने छन् ।
तपाईको प्रतिक्रिया