काठमाडौं । नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कर्ष निकालेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । राजाको स्वागतमा ठूलो संख्यामा विमानस्थल र सडकमा उपस्थित आम नागरिकमा राप्रपा हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछ । आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ ।’
आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्बित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ’नवीन समझदारी गर्न राप्रपाले सबै राजनीतिक दललाई आह्वान गरेको छ । यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गरेको हो ।
पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णयसमेत गरिएको छ ।
तपाईको प्रतिक्रिया