खोरेत रोग उन्मूलन अभियान सम्बन्धि खोपकर्तालाई अभिमुखिकरण

समाचार

कमलराज पौडेल देवकमल, बर्दिया । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मूलन अभियान सम्बन्धि खोपकर्तालाई अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

अभियानअन्तर्गत एकदिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठी गर्दै कार्यालयले जिल्ला भित्रका ८ वटै स्थानीय तहमा रहेका ३५ जना खोपकर्तालाई पशुमा लाग्ने खोरेत रोग उन्मूलन अभियानमा सक्रिय बनाउन कार्यक्रमको आयोजना गरीएको हो ।

यस कार्यक्रमबाट खोपकर्ताहरुलाई खोप लगाउने विधिका साथै खोरेत रोगका लक्षणहरुका बारेमा जानकारी गराइएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाका कार्यालय प्रमुख सागर ढकालले बताए ।

उनले जिल्ला भित्र पशुचौपायको संख्या गाई १ लाख २५ हजार, भैंसी १ लाख २४ हजार, बाख्रा २ लाख र बंगुर ४२ हजार रहेको जानकारी गराउँदै प्रदेश सरकारको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया खोरेत रोगको उच्च जोखिम जिल्ला भएता पनि विगत ४ वर्षदेखि संघ र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछि बर्दिया खोरेत रोगमुक्त जिल्ला भएको बताए ।

उनका अनुसार दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भैरहेको छ तर राज्यले दिने खोपको संख्या वृद्धि हुन सकेको छैन । उनले भने, ‘हामीले जिल्लाभित्र सरदर ४० प्रतिशत मात्र पशुचौपायलाई खोप लगाउन सकेका छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ