काठमाडौं स्कूल अफ लको ध्यानाकर्षण

समाचार

काठमाडौं । काठमाडौँ स्कुल अफ लका एकजना विद्यार्थीबाट काठमाडौँ स्कुल अफ ल का पदाधिकारी तथा शिक्षकहरूबाट विद्यार्थी तथा शिक्षण सहायकहरुलाई दुव्र्यवहार हुने गरेको भन्ने पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र त्यसैको हवाला दिँदै सम्प्रेषित समाचारप्रति कलेजको गम्भीर ध्यानाकर्षण भएको छ ।

कलेजका आन्तरिक उजुरी तथा गुनासा समितिका सदस्य सचिव लक्ष्मी सापकोटाद्वारा गत मंगलबार हस्ताक्षरित विज्ञप्तिमा, ‘उक्त विवरणमा निवेदकले दुव्र्यवहारका सम्बन्धमा निवेदन दिएको तर कारबाही केही नभएको भन्ने व्यहोरा उल्लेख भएको पाइएकोले सम्पूर्ण सरोकारवाला र सर्वसाधारणको जानकारीका लागि यो ध्यानाकर्षण पत्र प्रकाशित गरिएको छ,’ उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ स्कुल अफ लले कुनै पनि खालका भेदभाव, उत्पीडन तथा दुव्र्यवहारहरूका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आइरहेको व्यहोरा अनुरोध गर्दछौं । यसै नीति अन्तर्गत काठमाडौँ स्कुल अफ लका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूबीच दुव्र्यवहार, भेदभाव तथा अनुशासन विचलनका विषयमा उठेका वा परेका उजुरीको कारबाही र किनारा गर्न काठमाडौँ स्कुल अफ ल आन्तरिक उजुरी तथा गुनासा सम्बन्धी कार्यविधि निर्देशिका कार्यान्वयनमा रहेको छ । यस अन्तर्गत आन्तरिक उजुरी तथा गुनासा सम्बन्धी समितिले उजुरी तथा गुनासाहरुलाई सम्बोधन तथा व्यवस्थापन गर्ने गर्दछ ।’

प्रस्तुत विषयको निवेदन कलेज प्रशासनबाट आन्तरिक उजुरी तथा गुनासा समितिमा पेश हुने वित्तिकै समितिले त्यस निवेदनलाई जानकारीमा लिई आवश्यक जाँचबुझ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

‘निवेदनमा कलेजका पदाधिकारी एवम् शिक्षकहरु समेतलाई इङ्गित गरिएको सन्दर्भमा आन्तरिक रुपमा बुझबुझारथ गर्ने कार्य सम्पन्न भई निवेदकसँग दाबी गरिएको विषयसंग सम्बन्धित थप विवरण भए सङ्कलन गर्ने निर्णय भएकोमा एकेडेमिक इन्चार्जबाट अहिले विश्वविद्यालयको बार्षिक परीक्षा सन्निकट रहेको र यतिबेला निवेदकलाई आमन्त्रण गरी छलफल गर्दा यसको नकरात्मक प्रभाव निवेदकको परीक्षामा समेत पर्ने सम्भावना देखिएकाले निवेदकको उच्चतम हित र भलाईलाई मध्यनजर गरी वार्षिक परीक्षाको समापन पछि छलफलको लागि बोलाउन उपयुक्त हुने सल्लाह अनुसार निवेदकलाई वार्षिक परीक्षा पछि आमन्त्रण गर्ने निर्णय भएको हो । तर यसबीचमा निवेदकले यस कलेजमा पेश गरेको निवेदन सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हुँदा विषयको गाम्भीर्यतालाई मध्यनजर गरी निजलाई समितिमा उपस्थित भै उजुरीको कार्वाही र किनारामा सहयोग गर्न पत्राचार गरिसकिएको छ । निवेदनमा कलेजका पदाधिकारीहरुको सन्दर्भ जोडिएको विषयलाई समेत हेर्न एउटा स्वतन्त्र छानविन समिति गठन गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको हुँदा छानविन प्रक्रिया सम्पन्न नभइन्जेल धैर्यधारण गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी उपर हुने दुव्र्यवहार र उत्पीडनप्रति समिति संवेदनशील रहेको विश्वास दिलाउँदै सामाजिक सञ्जालको दुरुपयोग गरी अन्यथा प्रचारप्रसार गर्ने, संस्था र सोसँग सम्बन्धित पदाधिकारी तथा शिक्षकहरुको मान प्रतिष्ठामा आँच पुरÞ्याउने, शैक्षिक वातावरण धुमिल्याउने गरी घृणा र द्वेष फैलाउने, व्यक्तिगत लाञ्छानायुक्त गाली गलौज गर्ने लगायतका कुनै पनि अशोभनीय गतिविधि नगरी छानविन प्रक्रियालाई सहयोग गर्न कलेजले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ