स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो

समाचार

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा शनिबार २३ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । सो कार्यक्रममा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. देवराज अधिकारी; काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले; राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव; पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया; मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम; वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी; र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले उपस्थिति जनाएका थिए ।

कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

राजदूत श्रीवास्तवले आफ्नो मन्तव्यमा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औं ब्याचका पुरस्कृतहरुका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिए ।

उनले विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गरे र भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पारे ।

भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस समयको अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रुपमा २०० जना पुगेको छ ।

यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् । अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्षहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।

भारत र नेपालबीच रहेको शैक्षिक सहयोग, क्षमता निर्माण र शैक्षिक साझेदारीले दुई देशबीचको दिगो मित्रतालाई थप गहिरो बनाउनुका साथै नयाँ सम्बन्धहरूलाई प्रवद्र्धन गरी जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको छ ।

छात्रवृत्ति र क्षमता निर्माण कार्यक्रमका पहलहरूले नेपालको प्रगति, ज्ञान र साझा समृद्धिको लागि मानव संसाधन विकासमा साझेदारी गर्ने भारतको प्रयासको अभिन्न अंगको रुपमा कार्य गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ