हिमनदीको संरक्षण गर्न जरुरी : मन्त्री यादव

समाचार

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तक कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् ।

शनिबार विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन)द्वारा यहाँ आयोजित “दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी” विषयक गोष्ठीमा मन्त्री यादवले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताएका हुन् ।

“पानी जीवनको आधार हो । पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन । यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ ।”, उनले भने ।

उनले नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत बताए ।

मन्त्री यादवले ग्लेशियर भनेको हिमालय क्षेत्रमा हजारौँ वर्षदेखि जमेको बरफ, हिउँ, र चट्टानको ठूलो सङ्ग्रह भएको जानकारी गराए ।

यसैगरी उनले स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)को सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको पनि मुख्य आधार भएको बताए ।

विशेष गरी दिगो खानेपानी तथा सरसफाई प्रणाली निर्माणका लागि नीति, प्रविधि र स्रोत साधनको प्रभावकारी परिचालन अपरिहार्य रहेको मन्त्री यादवले बताए ।

विश्व पानी दिवस २०२५ को नारा ग्लेसियर संरक्षण गरौँ भन्ने तय गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ