काठमाडौं । दैलेख जिल्लाको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास भएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दैलेख जिल्लाको दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.९ करोड परियोजना लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण भइरहेको छ ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान साढे तीन तल्ले भवन निर्माणको लागि प्रयोग गरिँदैछ जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
कर्णाली प्रदेश सरकारका माननीय मन्त्री, दैलेखको दुल्लू नगरपालिका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे ।
उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरू र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृतिको बारेमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको कर्णाली प्रदेशमा शिक्षा र संस्कृति क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन पनि मद्दत गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् ।
यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
तपाईको प्रतिक्रिया