हिंसात्मक गतिविधि रोक्न नेपाल सरकार असफल र असक्षम : प्रवक्ता सुमन

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले नेपाल सरकारले शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधिहरू रोक्न असफल र असक्षम सावित भएको बताएका छन् ।

जसपा नेपालका प्रवक्ता सुमनले शनिबार एक विज्ञप्ति जारी गरी ‘आम जनतामा उत्पन्न भएको नैराश्यता र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रि गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दूराज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उदेश्यका लागी २०८१ साल चैत्र १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्मम्तापूर्वक हत्यासमेत गरिएका छन् ।’ भनेका छन् ।

‘कुनै पनि वाहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिदैन । यस्ता गैर–राजनीतिक एवं अपाराधिक हिंसक क्रियाकलापको जनता समाजवादी पार्टी, नेपाल घोर निन्दा र भत्र्सना गर्दछ ।’ प्रवक्ता सुमनले भने, ‘जनआन्दोलन, जनसंघर्ष र जनविद्रोहको माध्यमद्वारा जनताले त्याग तपस्या, कठोर संघर्ष र बलिदान दिएर प्राप्त गरेका उपलब्धिहरू– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, धर्म निरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक, समावेशीता आदिको सरकारले रक्षा गर्न सक्दैन भन्ने आशंका उत्पन्न भएका छन् ।’

काठमाडौंको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबीन तथा जाँचबुझ आयोग गठन गरी छानवीन तथा अनुसन्धान गरिनु पर्ने जसपा नेपालले माग गरेको छ । उनले भनेका छन्, ‘यस्ता घटनामा संलग्न रहेका दोषि वा जिम्मेवार व्यक्तिहरूलाई कानून बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछौं ।’

जनतालाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन, धनजनको सुरक्षा गर्न, हिंसात्मक घटना हुन नदिन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई रक्षा गरी संस्थागत गर्न आवश्यक ठोस् कदम चाल्नुपर्ने माग गरेको छ ।

प्रतिक्रान्ति तथा प्रतिगमनकारी राजावादी शक्तिहरूलाई परास्त गर्दै जनआन्दोलन, जनविद्रोह र ऐतिहासिक मधेश जनविद्रोह लगायतका संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गरी मुलुकमा देखा परेका समस्याहरू खास गरी भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र, अराजकता र दण्डहीनता, तथा जातीय, लैङ्गिक, वर्ण तथा वर्गका आधारमा हुने गरेका उत्पीडन, विभेद र असमानताको स्थितिलाई अन्त्य गर्दै मुलुकमा सुशासन, समानता, सामाजिक न्यायका साथै विकास र समृद्धिका लागि ठोस कार्य गर्न समेत जसपा नेपालले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ