दोषीहरुलाई न्यायको कठघरामा ल्याउन तमलोपाको माग

समाचार

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले शुक्रबार राजावादीहरुको प्रदर्शनको क्रममा भएका हत्या, हिंसा, लुटपाट, आगजनीको भर्त्सना गरेका छन् ।

तमलोपा अध्यक्ष लालले प्रेस विज्ञप्ति जारी गरी नेपाली जनताको लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध राजतन्त्र र त्यसको निरंकूशता तर्फ धकेल्ने दूषित मनसायले शुक्रबार केही पुनरुत्थानवादीहरुद्वारा हत्या ,हिंसा, लूटपाट, आगजनी गरी अराजकता निम्त्याउने कुत्सित दुष्प्रयासको भर्त्सना गरेका छन् ।

उनले जनताको सार्वभौम अधिकार र सर्वोच्चतालाई चुनौती दिने यस्ता घटनाहरुको न्यायिक छानबीन गरी दोषीहरुलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् ।

‘यस्ता प्रतिक्रान्तिवादी र पुनरुत्थानवादी शक्तिहरु विधिको शासनमा देखिएका बेथिति तथा भ्रष्टाचार र नातावाद कृपावाद–समूहवादले प्रदूषित राज्यका अंगहरुको कारण जनतामा व्याप्त चरम निराशाको अनुचित लाभ लिन खोजेको तथ्यप्रति शासनसत्तामा बस्ने गरेका समूहहरुले बेलैमा बोध लिनु उचित हुने सत्यतिर सबैको ध्यान आकर्षित गराउँदछौं । सबै किसिमको कदाचारको अन्त्य र विधिको शासनप्रति अटूट प्रतिवद्धता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार राज्यका अंगहरुमा समानुपातिक समावेशी भागीदारीको सुनिश्चितता नै यसको एक मात्र समाधान रहेको स्पष्ट गर्न चाहन्छौं ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

हिंसाको शिकार भई आफ्नो कर्तव्य पथमा रहेको बेला पत्रकार सुरेश रजकले ज्यान गुमाउन बाध्य हुनु परेको घटनाले स्तव्ध भएको बताउँदै उनले स्व. सुरेश रजकको चीर शान्तिको कामना गर्दै नको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ