विराटनगर । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्धि नचाहनेहरुले मुलुकलाई वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताएका छन् । उनले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताए ।
उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम नेपाली जनता अधिकार सम्पन्न भइसकेको अवस्थामा नेपाली जनताले कुनै पनि वंशवाद र एकाधिकारवाद स्वीकार्य गर्न नसक्ने प्रष्ट पारे । उनले संसारमै दास युग र सामन्ती युगको अन्त भइसकेको अवस्थामा नेपालमा राजा फर्कने सम्भावना नभएको प्रष्ट पारे ।
अध्यक्ष नेपालले आन्दोलनका नाममा विध्वंस मच्चाउने आपराधिक तत्त्वलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए । आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र मान्छेको हत्या गर्ने जो कोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया