१० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर

समाचार

काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कुल नेरु.६२.५ करोड परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

यी १० परियोजनाहरू (क) कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सान्बा माध्यमिक विद्यालयको निर्माण, (ख) कोशी प्रदेशको सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित न्गाग्युर न्यिङ्मा पल्युल ढोङ्गाग छोलिङ गुम्बाको निर्माण, (ग) बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिकास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा नेपाल–भारत मैत्री ई पुस्तकालयको निर्माण, (घ) बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ३ मा स्वास्थ्य चौकी भवनको निर्माण, (ङ) बागमती प्रदेशको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ६ मा स्वास्थ्य चौकी भवनको निर्माण, (च) लुम्बिनी प्रदेशको गुल्मीको धुर्कोट गाउँपालिकास्थित निन्युखर्क माध्यमिक विद्यालयको निर्माण, (छ) लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित नयाँ गाउँ माध्यमिक विद्यालय भवनको निर्माण, (ज) कर्णाली प्रदेशको हुम्लाको चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पतालको भवन निर्माण, (झ) सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण र (ञ) सुदूरपश्चिम प्रदेशको बझाङको जयपृथ्वी नगरपालिकास्थित श्री सत्यवादी माध्यमिक विद्यालयको प्रशासनिक तथा छात्रावास भवनको निर्माण, नेपालमा यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू जस्तै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु मार्फत कार्यान्वयन गरिनेछ ।

यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधाहरू प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनाहरू सहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका ७ वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताहरूको सिर्जनाका क्षेत्रमा ४९५ परियोजनाहरू पूरा गरेको छ । बाँकी परियोजनाहरू विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ