गोली हानेर हैन, सरकारले जनता असन्तुष्ट हुनुको कारण पत्ता लगाउनुपर्छ : सांसद गौतम

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. १ का संघीय सांसद संजय कुमार गौतमले गोली हानेर हैन सरकारले जनता असन्तुष्ट हुनुको कारण पत्ता लगाउनु पर्ने बताएका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिकाअन्तर्गत रहेको कृषि सहकारी संजालद्वारा आयोजित ६८औं सहकारी दिवसका अवसरमा मन्तव्य राख्दै सांसद गौतमले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘म यहाँबाट निर्वाचित जनप्रतिनिधि भएको हुनाले यो क्षेत्रका विकासलाई नजिकबाट नियाल्ने प्रयास गरिरहेको छु । मुलुकको राजनीति एकातिर छ, हाम्रो आवश्यकता एकातिर छ र हामीले सोचेको परिस्थिति अर्कोतिर छ । हामीले किसानको समस्यालाई सम्बोधन गर्न नसकिएको अवस्था छ । सायद यस्तै कारणले होला जनता असन्तुष्ट भई अहिले सडकमा उत्रिएका छन् । सरकारले अब कत्ति पनि ढिलो नगरी जनतालाई सन्तुष्ट बनाउनु पर्छ ।’

सांसद गौतमले निरंकुश राजतन्त्रलाई फालेर संवैधानिक राजसंस्था ल्याएको जानकारी गराउँदै, राजसंस्थाले पनि जनताका लागि केही नगरेको भान भएपछि राजसंस्था हटाएर गणतन्त्र व्यवस्था ल्याएको बताए । उनले जनता यो व्यवस्थाप्रति पनि सन्तुष्ट नभएकाले अब जनताको आवश्यकता के हो त भनि सरकारले बुझ्नु जरुरी भएको भन्दै देश कुन दिशा तर्फ गहिरहेको छ भनि चिन्ता व्यक्त गरे ।

साथै उनले यदि यसै क्रम जारी रहे यो व्यवस्था पनि टिक्न नसक्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ