आन्दोलनरत् शिक्षकहरुसँग तत्काल वार्ता गरी माग सम्बोधन गर्नुपर्छ : उपेन्द्र यादव

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत केही दिनदेखि आन्दोलनरत् शिक्षकहरुसँग तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका जसपा नेपालका अध्यक्ष यादवले सोमबार एक विज्ञप्ति जारी गरी मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै रहेको जिकिर गरेका हुन् ।

‘नेपाल सरकारको अदूरदर्शी, त्रुटिपूर्ण, शिक्षा नीति, ऐन, कानून र व्यवस्थापन सम्बन्धि कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्यौल, दिशाहीन र गुणस्तरहीन तर्फ उन्मुख रहेको अवस्थामा छ । शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलताको अवस्थालाई अन्त्य गरिनु पर्दछ ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

बाध्य भएर केही दिन देखि शिक्षकहरू आफ्ना माँगहरू लिएर काठमाडौँको सडकमा आन्दोलनरत रहेका छन् । उनले भनेका छन्, ‘सरकारले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी उनीहरूका न्यायोचित माँगहरूलाई सम्बोधन गर्नु पर्दछ ।’

यसका साथै सरकारले शिक्षा सम्बन्धि नीति, योजना, ऐन कानून र कार्यक्रमहरूको समिक्षा गरी यसमा व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रमा देखा परेका विकृति, विसंगति, अराजकता र अन्यौलताको स्थितिलाई अन्त्य गरी समान गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने व्यवस्था गरिनु पर्ने उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ