शिक्षकहरुको न्यायोचित माग वार्तामार्फत् अविलम्ब सम्बोधन गर्न लोसपाको आग्रह

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनरत् शिक्षकहरुको न्यायोचित माग वार्तामार्फत् अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘देशको भविष्य र समृद्धिको मेरुदण्ड शिक्षा नै रहेकोले लामो समयदेखि शैक्षिक गतिविधि अवरुद्ध हुनु चिन्ताको विषय हो,’ उनले भने, ‘सरकारले यथाशीघ्र वार्ता र सम्बादको माध्यमले जायज र न्यायोचित माग सम्बोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

शिक्षकहरु राष्ट्र निर्माण र भविष्यका कर्णधारक रहेको भन्दै अध्यक्ष ठाकुरले शिक्षकहरुको हक अधिकारलाई बेवास्ता गर्न नहुने तर्क गरेका छन् ।

यता, अध्यक्ष ठाकुरले शिक्षकहरुको कतिपय मागहरु संविधान संशोधनसँग सम्बन्धित रहेको र शिक्षासम्बान्धी ऐन पनि संसदमा विचाराधीन रहेकोले तत्काल पूरा हुनसक्ने मागहरुबारे सरकारसँग वार्तामा आउन आग्रह पनि गरेका छन् ।

तत्काल पूरा हुन सक्ने माग र संविधान संशोधनसँग सम्बन्धी मागबारे छलफल गरी समस्याको समाधान गर्न सरकार र आन्दोलनरत् शिक्षक दुवै पक्षलाई उनले आग्रह गरेका छन् ।

शिक्षकहरु विद्यालय अवरुद्ध गरेर सडक आन्दोलन गर्नु अत्यन्तै चिन्ताको विषय रहेको भन्दै सरकारले अविलम्ब ठोस कदम चालेर शिक्षकलाई शैक्षिक कार्यमा पठाउन पनि उनले सरकारसँग जोडदार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ