नेपाल–भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न

समाचार

काठमाडौं । नेपाल–भारत सीमाको सुरक्षामा सघन सहकार्य गर्ने उद्देश्यले सर्लाही, महोत्तरी, रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायबिच संयुक्त बैठक सम्पन्न भएको छ ।

सोमबार साँझ भारतको सीतामढीमा आयोजित उक्त बैठकमा दुवै देशका सम्बन्धित जिल्लाका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीहरू, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र भन्सार कार्यालयका प्रतिनिधिहरू उपस्थित रहेको थियो ।

भारत तर्फबाट सीतामढीका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी अधीक्षक, एसएसबी तथा भन्सार कार्यालयका पदाधिकारीहरू सहभागी भएका थिए ।

बैठकमा खुला सीमाका कारण बढ्न सक्ने आपराधिक गतिविधिहरू जस्तै लागुऔषध र मदिराको अवैध ओसारपसार, चोरी–तस्करी, अवैध मुद्रा कारोबार–नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।

साथै, आपसी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र सीमाक्षेत्रमा शान्ति तथा सुरक्षालाई सुदृढ बनाउने उपायहरूमा सहमति जनाइएको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, यस्ता संयुक्त समन्वय बैठकहरू समयसमयमा गर्दै आइएको छ, जसले नेपाल–भारतबीचको सीमा सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ