रौतहटमा १०९ किलो गाँजा र हतियारसहित एक जना युवक पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लामा पहिलो पटक प्रहरीले ठूलो मात्रामा हतियारसहित लागूऔषध गाँजाको साथै एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी जिल्लामा पटक–पटक ठूलो मात्रामा लागूऔषध गाँजा पक्राउ परे पनि रौतहटमा यो पहिलो पटक पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मंगलबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरी जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर १ स्थित रहेको झुलुङ्गे पुल नजिक बाट १ क्विन्टल ९ किलो ११ पोका लागूऔषध गाँजा र हतियारसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेका हुन् ।

विशेष सूचनाको आधारमा गएको प्रहरीको विशेष टोलीले नेपालबाट भारततर्फ लगिँदै गरेको अवस्थामा उक्त परिणामको लागूऔषध गाँजासहित स्थानीय गौर नगरपालिका वडा नम्बर ४ निवासी २१ वर्षीय सावन गिरिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

रौतहटको नाकाबाट लागूऔषध गाँजाको ठूलो तस्करी हुने गरेको पहिलाको सूचनाको आधारमा प्रहरीको बिशेष टोली परिचालन गरिएको कारण ठूलो सफलता मिलेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।

केरावारीको बाटो प्रयोग गरी २÷३ जना व्यक्तिले टाउकोमा पोको लिएर जाँदै गर्दा प्रहरीको गस्ती टोलीलाई देखेपछि कारोबारीहरू भाग्ने क्रममा गिरि पक्राउ परेको छ । गिरिले लगाएको हाफ प्यान्टको बाया तर्फको खल्तीमा राखेको ८ एम एम के एफ लेखिएको ३ राउण्ड गोली र दाहिने तर्फ राखेको एक थान मोबाइल तथा एक थान गोली लोड गरिएको कटुवा पेस्तौल भुइँमा फेला परेको हो ।

लोड गरिएको गोली प्रहरीको टोली माथि प्रहार गर्न खोज्दा मिस भएको देखिएको प्रहरी उपरिक्षक घिमिरेको दावी रहेको छ । १ वर्षको अवधिमा घिमिरेले पहिलो पटक यति मात्रामा लागूऔषध गाँजा समात्न सफल भएका हुन् ।

छिमेकी जिल्ला सर्लाही, बारा र पर्साबाट ठूलो मात्रामा गाँजा पक्राउ परिरहेको बेला रौतहटमा पनि समात्नु पर्ने सोच बनाएर लागेको कारण १ क्विन्टल ९ किलो लागु औषध गाजा पक्राउ गर्न सफल भएको उनको भनाइ रहेको छ ।

पक्राउ परेका गिरिलाइ लागूऔषध ओसार पोसार मुद्दामा सम्बन्धित निकायबाट अनुमति लिई थप अनुसन्धानको कार्य अगाडी बढाईएको र फरार भएका संलग्न व्यक्तिको खोज तलाश जारी रहेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ