सर्लाही । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीले मधेश प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा उर्दुलाई पनि बनाउनुपर्ने माग गरेका छन् ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आयोजित ईद मिलन उर्दू सम्मेलन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले उर्दूलाई पनि मधेश प्रदेशको सरकारी कामकाजी भाषा बनाउन माग गर्दै त्यसो नगरिए सत्ताधारी दलहरुलाई बहिष्कार गर्न आह्वान गरेका हुन् ।
केही दिन पहिला मधेश प्रदेशसभामा नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषालाई कामकाजी भाषाका लागि प्रस्ताव गरिएको थियो । उर्दू भाषालाई नसमेटिएको भन्दै आफूहरुले विरोध गरेपछि मात्रै त्यो प्रस्ताव फिर्ता भएको उनको दाबी थियो ।
उनले यो देशमा एक प्रतिशतभन्दा बढी बोलिने भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने जिकिर गरेका छन् ।
‘प्रदेश सरकारले भाषासम्बन्धी अर्को प्रस्ताव ल्याउँदा त्यसमा उर्दू र थारु भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा ल्याओस्,’ उनले भने, ‘मधेश प्रदेश सरकारले यदि उर्दू, थारु लगायतका भषाहरु नसमेटिए त्यसलाई बहिष्कार गरी जनता सडकमा आउनुपर्छ ।’
तपाईको प्रतिक्रिया