रौतहटमा आगलागीको ११४ घटना, दुईको मृत्यु, करोडौंको क्षति

समाचार

राकेश यादव, रौतहट । जिल्लामा लगभग दिनहुँ आगलागी भइरहेका छन् । आगलागीबाट धनजनका क्षतिहरु हुँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले सुख्खा मौसमको आगमन भएकोले आगोको प्रयोग सावधानीपूर्वक गर्नु पर्ने बताएका छन् ।

गर्मीको समयमा जथाभावी आगो प्रयोग गर्नाले जन्धनको क्षति पुग्ने जोखिम भएकोले आगो सावधानीपूर्वक प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

जिल्लामा आगलागीको घटना बढ्दै गएको बेलामा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्नका लागि सचेत हुनु आवश्यक रहेको उनले बताए ।

घरमा सलाई, लाइटर, पेट्रोलियम पदार्थ, ग्यास सिलिन्डर सुरक्षित स्थानमा राख्नु पर्ने भन्दै प्रहरी उपरीक्षक घिमिरेले बालबालिकाको पहुँचबाट यस्ता सामाग्री टाढा राख्नु पर्ने सुझाव दिए ।

घिमिरेले घरमा राख्नु पर्ने बहुमुल्य समान, नगद, महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमा राख्न अपिल गर्दै तेज हावाहुरी चलेको बेला घरमा तथा घर बाहिर खेत, खलिहान लगायतका सार्वजनिक स्थानमा आगोको प्रयोग नगर्न सर्वसाधारणसँग अनुरोध समेत गरेका छन् ।

चालु आर्थिक वर्षको चैत्रसम्म रौतहट जिल्लामा आगलागीका ११४ वटा घटना घटेका छन् । आगलागीको घटनामा २ करोड भन्दा बढीको क्षति भएको हो ।

प्रज्वलनशील पदार्थ तथा आगोको अव्यवस्थित व्यवस्थापनले गर्दा आगलागीको घटनामा वृद्धि भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चैत्र २५ गतेसम्म ११४ वटा घटना घटेको छ । घटनामा २ जना महिलाको मृत्यु भएका छन् भने ८ जना पुरुष, १ जना बालक घाइते भएका छन् । आगलागीमा १९ वटा चौपायाको जलेर मृत्यु र २५ वटा चौपाया घाइते भएका छन् ।

८ वटा पक्की घर, १६ वटा कच्ची घर तथा १५ गोठ र १ वटा सार्वजनिक क्षति भएको छ । आगलागीको घटनामा ५०१ जना प्रभावित भएकोमा आगो नियन्त्रणका लागि ५६२ जना प्रहरी परिचालन गरिएको तथ्यांक रहेको छ ।

आगलागीबाट चैत्र महिनाको २५ गतेसम्म ८५ लाख १९ हजार मूल्य बराबरको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्म १ करोड ९७ लाख ७४ हजारको क्षतिको आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ