भारतका कृषिमन्त्री चौहानको नेपाल भ्रमण : द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा

समाचार

काठमाडौं । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान चैत्र २७ गते नेपालद्वारा काठमाडौंमा आयोजना गरिएको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको लागि चैत्र २६–२८ सम्म नेपालको औपचारिक भ्रमणमा रहेका छन् ।

विगत एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवद्र्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको छ । “कृषि र खाद्य सुरक्षा“ बिम्स्टेक सहयोगको मुख्य क्षेत्रहरू मध्यको एक हो । क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बिएएमएमको यो तेस्रो बैठक थियो ।

बिएएमएमको पहिलो बैठक मिति २०७६ असार २७ गते म्यानमारमा भएको थियो र त्यसपछिको दोस्रो बिएएमएमको बैठक मिति २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो । तेस्रो बिएएमएमको समयमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोग सहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूमा छलफल गरेका थिए ।

भ्रमणको क्रममा चैत्र २७ गते भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग द्विपक्षीय बैठक पनि गरे ।

उनले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई दिए । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गरे र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गरे ।

भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले चैत्र २७ गते काठमाडौंमा हस्ताक्षर गरे ।

उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

यस सम्झौताले मिति २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले चैत्र २७ गते नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरे । उनले भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गरे र भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल गरे ।

जसले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता–जनताबीचको सम्बन्धमा गहिरो जरा गाडेको छ । कृषिका विभिन्न क्षेत्रहरूमा भारत–नेपाल सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको थियो ।

तेस्रो बिएएमएममा सहभागिता जनाउन तथा अन्य प्रमुख द्विपक्षीय भेटघाटहरू गर्न भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीको नेपाल भ्रमणले दुई देशहरूबीच हुने नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ । यसले विशेष गरी कृषि र सम्बन्धित क्षेत्रहरूमा हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिन मद्दत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ