काठमाडौं । वित्तीय पीडितको आन्दोलनको क्रममा भएको धरपकड जनताविरोधी र दमनकारी चरित्र रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष महतोले बिहीबार विज्ञप्ति जारी गरी वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको जारी शान्तिपूर्ण आन्दोलनले सहकारी पीडित, लघुवित्तबाट ठगिएका गरिब जनता, बैंकिङ धोखाधडीका शिकार परिवारको आन्दोलन प्रति एक्यवद्धता रहिआएको बताएका हुन् ।
बुधबार वित्तीय शोषणविरुद्ध शान्तिपूर्ण मसाल जुलुसमा सहभागी रामुपाका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठसहित २४ जना पीडितहरूलाई सरकारले अमानवीय ढंगमा गिरफ्तार गरेको घटनाले राज्यको “जनताविरोधी र दमनकारी चरित्र“ लाई फेरि एकपटक उजागर गरेको उनले आरोप लगाएका छन् ।
‘यो केवल गिरफ्तारी होइन, आन्दोलनलाई डराएर दबाउने सरकारी षड्यन्त्र हो । सर्वहरण उन्मुख गराउन खोजिएका पीडितहरु भोक, प्यास, र लाठीले डराउने जनता होइन, जबसम्म वित्तीय पीडितहरूलाई न्याय मिल्दैन, हाम्रो समेत समर्थनमा रहेको संघर्ष थाम्ने कुनै शक्ति छैन ।’ अध्यक्ष महतोले भनेका छन् ।
उनले भनेका छन्, सरकारले आफैं कडा संघर्षको आह्वान गरे जस्तो छ । गिरफ्तारीले हाम्रो आवाज रोक्न सक्दैन, यसले मात्र आगोमा घिउ हाल्नेछ । शान्तिपूर्ण एवं अहिंसात्मक संघर्षलाई सम्मान गर्दै पक्राउ परेकालाई अबिलम्ब बिना–शर्त रिहाइ गर्न राष्ट्रिय मुक्ति पार्टी मांग गर्दछ । आँसु र रगतले सिँचिएको यो संघर्ष सम्बोधनको साटो राज्य अझ दमनमा उत्रिनु अन्याय हो ।’
उनले यो नेपालको गरिब जनताको आर्थिक न्यायको लडाइँ रहेको भन्दै न्याय, समानता र आर्थिक शोषणको अन्त्यका लागि हुने यस संघर्षमा सम्पूर्ण नागरिक समाज, अभियानी समूह तथा पीडित वर्ग एकजुट भई आन्दोलनलाई सफल र परिणाममुखी बनाउन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया