राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडामा भएको अधिवेशनमा निर्वाचन प्रक्रियाबाट जिल्ला अध्यक्षमा राजिव रंजन यादवको प्यानल विजयी भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी निवर्तमान जिल्ला अध्यक्ष श्याम बिहारी यादवलाई पराजित गर्दै ६५ मतले राजीव रंजन अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा खसेको ३२९ मत मध्ये १९५ मत प्राप्त गर्दै बिजयी भएका हुन् । प्रतिपक्षमा रहेका उम्मेदवार श्याम बिहारी यादवको पक्षमा १३० मत परेको निर्वाचन समितिले जनाएको छ ।
नयाँ जिल्ला कार्य समितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा अमरुल हक, पारस भण्डारी, सचिवमा शम्भु प्रसाद यादव, उप सचिवमा उपेन्द्र राय यादव, दिपेन्द्र पटेल र कोषाध्यक्षमा बृज मोहन साह निर्वाचित भएका छन् ।
श्याम बिहारी यादवका प्यानलमा रहेका उम्मेदवार अमृतलाल चौधरी, रामेश्वर राय, जयराम महतो, प्रवेज आलम, बसन्त झा र कोषाध्यक्ष सुरेन्द्र बैठा निर्वाचनमा पराजित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष राजीव रंजनले यो पार्टीको निर्वाचन भएकोले हार जीतको कुरो नभएर लोकतान्त्रिक प्रक्रिया भएको बताए ।
आफू निर्वाचित भएपनि पार्टीको सच्चा कार्यकर्ता भएर सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता गर्दै चुनावी प्रक्रियामा भाग लिने सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
तपाईको प्रतिक्रिया