वन विनाश गर्दै कालोपत्रे सडक बनाउने तयारी, जय हरियाली अभियन्ता पौडेलद्वारा वातावरण संरक्षणको माग

समाचार

अजय चापागाईं, बर्दिया । जिल्लाको गुलरिया नगरपालिका वडा नं. ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिश गुप्ताले वन विनास गर्दै कालोपत्रे सडक बनाउने तयारी भइरहेको बताउँदै सरोकारवाला निकायहरुलाई धयानाकर्षण गराएका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय, बर्दिया, डिभिजन वन कार्यालय, बर्दिया र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय, नेपालगंज, बाँकेलाई आवश्यक कारवाहीको मागसहित वातावरण संरक्षणका लागि ध्यानाकर्षण निवेदन पत्र पेश गरेका हुन् ।

जिल्लाको गुलरिया नगरपालिका वडा नं. १२ अन्तर्गत बिक्री भवानी सामुदायिक वन उपभोक्ता समिति र बारबर्दिया नगरपालिका वडा नं. ११ स्थित काला बेलभार सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा वन फडानी गर्दै कालोपत्रे सडक निर्माणको तयारी भइरहेको जानकारी गराउँदै उक्त कार्यप्रति अभियन्ता पौडेल र अधिकारकर्मी गुप्ताले आपत्ति जनाएका छन् ।

उनीहरुले उक्त कार्य तत्काल रोक्न माग गरेका हुन् । निवेदनमा वातावरण संरक्षण ऐन, वन ऐन र नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएको स्वच्छ वातावरणमा बाँच्ने अधिकारको उल्लंघन गर्दै वन फडानीको तयारी भइरहेको उल्लेख छ ।

सडक निर्माण आवश्यक भए पनि त्यसको वैज्ञानिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र कानुनी प्रक्रिया नअपनाई जंगल मास्नु गम्भीर विषय हो, निवेदनमा भनिएको छ ।

उनीहरुले निवेदनमा भनेका छन्, ‘यदि सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरेमा सामुदायिक वनको संरचना, जैविक विविधता र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ ।

निवेदकहरूले राष्ट्रिय मानवअधिकार आयोग मार्फत तत्काल सो अवैधानिक कार्य रोकी वातावरण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् । यदि यस विषय प्रति गम्भीर नभए आफुहरु उच्च अदालतसम्म जाने कुरा समेत उनीहरुले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ