जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार भएको बताएका छन् ।
हनुमान जयन्तीका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको घटनाक्रमप्रति मधेश प्रदेश मुख्यमन्त्री कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा मुख्यमन्त्री सिंहले गहिरो चासो व्यक्त गर्दै स्थिति सामान्य पार्न प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको र जनजीवन सहज बनाउन सक्रिय पहल जारी राखिएको बताइएको छ ।
मुख्यमन्त्री सिंहले कसैको धार्मिक पहिचान वा आस्थाको आधारमा विभेद वा द्वेष फैलाउने प्रयासलाई कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले राज्यको धर्मनिरपेक्ष चरित्र कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
जारी विज्ञप्तिमा वीरगंजको धार्मिक, सांस्कृतिक र जातीय विविधता नै मधेसको शक्ति भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास दुःखद, चिन्ताजनक र दुर्भाग्यपूर्ण हुने बताइएको छ ।
सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र स्थानीय प्रशासनको भूमिकालाई प्रशंसनीय भन्दै मुख्यमन्त्री सिंहले एक–अर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान गर्नु नागरिकको साझा दायित्व भएको धारणा व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया