काँग्रेस र एमाले मिलेर स्थायी सरकार बनेको हुँदा जनअपेक्षा धेरै छन् : थापा

समाचार

वीरगन्ज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधन र सुशासनको जन अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाराको क्षेत्रीय अधिवेशनको आज बाराको बडहर्वामा उद्घाटन गर्नुहुँदै महामन्त्री थापाले काँग्रेस र एमाले मिलेर स्थायी सरकार बनेको हुँदा जन अपेक्षा धेरै छन् भने ।

महामन्त्री थापाले प्रदेश सरकारमा भ्रष्ट्राचार र अनियमितताका कुरा बढी आएका छन् भन्दै सङ्घीयताको आधार स्तम्भको रुपमा रहेको मधेश प्रदेशमा भ्रष्ट्राचार र अनियमितता अन्त्य गर्न सबै जुट्नुपर्नेमा जोड दिए ।

आगामी निर्वाचनमा काँग्रेस कुनै दलसँग मिलेर गठबन्धन गरि चुनावमा जाने कल्पना पनि गर्न नसकिने बताउँदै उनले काँग्रेसको जग मधेसलाई थप मजबुत बनाएर मधेसको बलमा ०८४ को चुनावमा काँग्रेसले एकल बहुमत हासिल गर्ने समेत दाबी गरे ।

महामन्त्री थापाले पार्टीको क्रियाशील सदस्य वितरण वैशाख १५ गतेसम्म टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र बृहत्तर एकता आपसी सहमति सहकार्यको आवश्यकता रहेको बताए ।

उनले नेपाललाई संघीय गणतन्त्र घोषण गर्ने पार्टी काँग्रेस भएको हुँदा अन्य तन्त्रको बारेमा सोच्न पनि नसकिने बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का अध्यक्ष प्रभात कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रिय सदस्य प्रकाश रसाईली, निरु रायमाझी, संविधान सभा सदस्य शोभाकर पराजुली, मधुशाही ठकुरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ