प्रकाशकीय : हामी २१औं वर्षमा

समाचार

मधेश र मधेशीको अधिकार तथा विभेदमुक्त समाज निर्माण गर्न थालिएको मधेशवाणी यात्रा आजदेखि २१औं वर्षमा प्रवेश गरेको छ । हामीलाई २०औं वर्षे यात्रामा सहयोग गर्नुभएका सम्पादकमण्डल, पत्रकार, कर्मचारी, विज्ञापनदाता, वितरक, पाठक र शुभेच्छुक वर्गप्रति कृतज्ञता ज्ञापन गर्दछौं । सुख–दुःखसहितका हाम्रो यात्रामा सहयोग गर्नु भएका प्रत्येक व्यक्ति, संस्था, राजनीतिक दल र नागरिक समाजप्रति हामी सधैं आभारी रहने छौं ।

समुदायप्रति हाम्रो दायित्व र विभेदमुक्त नेपाल बनाउने सोचका साथ स्थापना गरिएको मधेशवाणी पत्रिका प्रारम्भमा पाक्षिक र हाल साप्ताहिक रूपमा पाठक माझ पस्किन पाउँदा हाम्रो टीम गौरवान्वित महसुस गर्दै आएको छ । सत्ता विभेद, संरचनागत विभेद, शासकीय विभेद, साम्प्रदायिक विभेद र स्वसामुदायिक विभेदका विरूद्धमा सक्रिय रहेको मधेशवाणी पत्रिका राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित छ । २० वर्षको यात्रामा भूलवश हाम्रो लेखन र प्रस्तुतिबाट कहि कतै र कसैलाई पीडित तुल्याएको छ भने क्षमायाचना गर्दछौं ।

हाम्रो मधेशवाणी परिवार मधेशी जनता र राष्ट्रप्रति थप जिम्मेवार भएर कार्य गर्ने कुरामा सबै पक्षलाई विश्वस्त गराउन चाहन्छौं । सक्षम, समृद्ध र विकसित मधेशसहितको नेपाल हामीलाई चाहिएको छ । विभेदमुक्त समाज चाहिएको छ । साम्प्रदायिक विभेद र मधेशी भए बापत पाइने पीडाबाट मुक्ति चाहिएको छ । साझा, स्वतन्त्र र विभेदमुक्त नेपाल निर्माणमा सबै तह र तप्काको सहकार्य खोज्दै मधेश र मधेशीमा रहेको कमीकमजोरी तथा राम्रा पक्षलाई औल्याउँदैै हामी अघि बढ्ने छौं ।

विभिन्न किसिमका राजनीतिक असहयोग र बहिष्कारको राजनीति पश्चात पनि आदरणीय पाठक, विज्ञापनदाता, सुभेच्छुक संस्था र मधेशप्रति समर्पित केही नेताहरूको अमूल्य सहयोग र दिशानिर्देशकै कारण हामी २१औं वर्षमा प्रवेश पायौं । मधेशीहरूले अधिकार नपाउनुका पछाडि अवसरवादी र ठूला दलका दलाली गर्न मधेश छिरेका मधेशी नेताहरूको भूमिका यथेष्ट छ । सत्तामा नपुगुञ्जेल मधेशीसँग विभेद भयो भनेर नारा अलाप्ने र आफै सत्तामा पुगेपछि मधेशीसँग थप विभेद गर्नेहरूको नेतृत्वले मधेश आन्दोलनको मानमर्दन भएको छ ।

अवसरवादी र भ्रष्टाचारी मधेशी नेतृत्वबाट सिंगो मधेशलाई जोगाउनुपर्छ । सरकारी अवसर पाएका जो कोहीलाई पनि उनका लगानी, जिम्मेवारी, कार्यशैली र परिणामका विषयमा सोधखोज गर्न थालिनुपर्छ । सत्तामा पुगेर ठूला दलको सेवा गर्ने, भ्रष्टाचार गरी मधेशवादलाई बदनाम गराउने, गैरमधेशीहरूबीच अवसर बाँडी आफ्नो खसभक्तिको निरन्तरता दिने र सत्ता बाहिर हुँदा मधेशवादको नारा अलाप्ने प्राविधिक, कुटिल र व्यावसायिक मधेशी नेताबाट जोगिनुपर्छ । अबका दिनहरूमा मधेशवाणी परिवार आफ्नो देश, मातृभूमि, मुद्दा र जनचाहनाप्रति थप सचेत भएर मधेश र देशलाई जोगाउन यथेष्ट प्रयत्न गर्दै जानेछ ।

— प्रकाशक

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ