उद्घाटनको समयमा विवादमा घन्टाघर

समाचार

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरको मध्य भाग वडा नम्बर ३ र ५ को सीमामा निर्माण भएको घन्टाघर विवादमा आएको छ ।

प्रजातन्त्रका लागि सहादत प्राप्त नेपाली कांग्रेसका जननेता बिपी कोइरालाको शालिक भएको ठाउँमा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भई उद्घाटनको बेलामा बिपी स्मारक सहितको घन्टाघर विवादित भएको हो ।

मधेश आन्दोलन २०६२÷०६३ को बेला स्थापना गरिएको बिपीको शालिक तोडिएको थियो । पहिलो स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकाका नगर प्रमुखमा अजय गुप्ता निर्वाचित भएपछि सो ठाउँमा घन्टाघर निर्माण गराउन शिलान्यास गर्दा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले अवरोध गरेपछि सो कार्य रोकिएकोमा दोस्रो स्थानीय तहको निर्वाचनमा शम्भु साह निर्वाचित भएपछि घन्टाघरको निर्माण कार्य थालिएको थियो ।

नेपालको संविधान जारी हुने बेला मधेशमा चलेको लामो आन्दोलन, नाकाबन्दीको क्रममा बिपी चौकमा प्रहरीको गोली लागेर शहीद भएका मधेशी शहीदहरुको प्रतिमा राख्नुपर्ने मधेशवादी दलको अडानको कारण घण्टाघर विवादमा तानिएको हो ।

मधेश आन्दोलन अघि सेवा केन्द्र सार्ने विषयमा २०७० सालमा भएको आन्दोलनको क्रममा विद्यानन्द यादव र राम आशिष ठाकुर सहादत प्राप्त गरेकोमा उहाँहरुको शालिक राख्नु पर्ने विषयमा विवाद उत्पन्न भएको छ ।

बैशाख ११ मा उद्घाटनको तयारी भएको बेला मधेशवादी दल जनता समाजबादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीका नेताहरुले विरोध गरेपछि उद्घाटनको कार्य तत्काल स्थगित गरिएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताएका छन् ।

बिपी कोइरालाको प्रतिमा राखिसकेको बताउँदै मधेशवादी दलको विरोध भएकोले उद्घाटन कार्य स्थगित गरिएको बताए । मधेशी शहीदहरुको प्रतिमा त्यहीं ठाउँमा राख्नुपर्ने माग रहेकोमा कांग्रेसले यसको विरोध गरिरहेको छ ।

नेपाली कांग्रेससहितका अन्य राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर पटक–पटक छलफल सहमति गर्ने प्रयास गरिएको उनले बताए ।

बैठकमा कहिले कांग्रेसका प्रतिनिधि नआउने तथा कहिले मधेशबादी दलका प्रतिनिधि सहभागी नहुँदा ठोस निर्णय हुन नसकेको बुझिएको छ ।

२०७२ मा भएको आन्दोलनको क्रममा बिपी चौकमा प्रहरीसँग भएको झडपमा गोली लागेर राज किशोर ठाकुर, शेख तबरेज आलम तथा शेख मौनुदिन ओस्ता शहीद भएकोमा मधेशी शहीदको शालिक राखे मात्र उद्घाटन गर्न दिने जनता समाजबादी पार्टी जिल्ला कार्य समिति सचिव शम्भु प्रसाद यादवले बताएका छन् ।

१ करोड २८ लाखको लागतमा निर्माण भएको बिपी स्मारकसहितको घन्टाघरको बीचमा बिपी कोइरालाको प्रतिमा राखिएको छ भने चारैतिरबाट मधेशी शहीदहरुको प्रतिमा राख्नु पर्ने माग मधेशी नेताहरुको रहेको छ ।

मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको प्रतिमा धेरै दिनदेखि पूर्वमन्त्री अनिल झाको घरमा अलपत्र अवस्थामा राखिएको छ ।

गौरको सौन्दर्यको लागि निर्माण गरिएको घण्टाघर शहीदहरुको शालिक राख्ने विषयमा उत्पन्न भएको विवादको कारण उद्घाटन हुने अवस्थामा जटिल हुन सकिने अनुमान गरिएको छ । मधेशी शहीदको प्रतिमा राख्न नदिने पक्षमा कांग्रेसका नेता देखिएकोले विवाद बढ्न सकिने सम्भावना बढी रहेको हुँदा विवाद समाधान गर्ने तर्फ सबै दलका नेताहरुले एकता सहकार्य, सहमति गरेर अघि बढ्नु पर्ने एक मात्र विकल्प देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ