राकेश यादव, रौतहट । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान गठबन्धनको सरकार अपवित्र र लोकतन्त्रको मुल्यमान्यता विपरीतको रहेको टिप्पणी गरेका छन् ।
शनिबार रौतहट जिल्लाको सदरमुकाम गौरमा पार्टी कार्यकर्तासँगको भेटघाटको क्रममा पूर्वसंघीय मन्त्री त्रिपाठीले काण्डैकाण्डले भरिएको नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहेको बताए ।
प्रमुख दल र प्रतिपक्षको राजनीतिक दल कुनै मुलुकमा मिलेर सरकार बनाउने परिपाटी नभएको नेपालमा भ्रष्टाचार अनियमिततालाई ढाकछोप गर्न दुवै ठूला दल गठबन्धन गरेर सरकार बनाएको टिप्पणी गरे ।
संविधान संशोधनको कुरा गरेपनि संविधान संशोधन गर्ने नियत सरकारको नदेखिएको दावी गरे । उनले भने, ‘संविधानको स्वामित्व लिन नसक्दा संविधान लावारिश अवस्थामा पुगेको छ ।’
गएको चैत्र महिनामा घोषणा भएको संघीय लोकतान्त्रिक मोर्चा मधेशवादी दलको मधेशमा एक पक्षमा बनाउनु पर्ने उद्देश्य रहेको प्रस्ट पारे ।
अध्यक्ष त्रिपाठीले मधेशबादी दल विभाजन भएको कारणले कमजोर बन्दै गएको जिकिर गरे । मधेशी जनताले आन्दोलनको बलमा पहिचान बनाउन सफल भएपनि शासकवर्गको कारण संघीयता पूर्ण रुपमा बलियो हुन नसकेको उल्लेख गरे । मुलुकमा भ्रष्टाचार अस्थिरता, बेथिति चरम सीमामा रहेको कारण राजावादीको प्रतिक्रिया बढ्दै गएको बताए । आन्दोलनबाट विस्थापित गरी सकिएको राजसंस्था पुनः फर्किने कुरो सपना मात्र भएको दावी गरे ।
राजनीतिक दलको रबैयाको कारण दलहरूप्रति वितृष्णा फैलिदै गएको बताउँदै अब नयाँ युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने धारणा राखे । उनले भने चेतनाको समस्या छ विश्वासको संकट पनि हटाउनु पर्छ ।
संघीय संरचना पनि केही फेरबदल गर्नुपर्ने उनले थपे । संघीय सरकारपछि स्थानीय सरकार सबल र बलियो बनाइएकोले बेथिति सिर्जना भएको उनको कथन रहेको छ ।
अम्बिका यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डाक्टर शिवजी यादवले घोषणा भएको मोर्चाको उद्देश्यबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया