राकेश यादव, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले चिहानमा पुगिसकेको राजसंस्था कुनै पनि हालतमा पुनर्जीवित हुन नसक्ने बताएका छन् ।
२४० वर्ष शाहवंशीय शासन व्यवस्थालाई नेपाली जनताले विस्थापित गरिसकेको हुँदा पुनः फर्किन सकिने अवस्था नरहेको दावी गरेका हुन् ।
रौतहट जिल्लाको सदरमुकाम गौरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा नेकपा एमाले गौर नगर कमिटीले आयोजना गरेको नेकपा एमाले गौर नगर कमिटीको ९औं नगर अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका बिष्टले गणतन्त्रको विरुद्धमा लाग्ने कुनै पनि शक्तिलाई लोकतान्त्रिक शक्तिले सशक्त रुपमा प्रतिरक्षा गर्ने बताए ।
नेपाली जनताको हित, लोकतन्त्र गणतन्त्रको रक्षा, बेरोजगारी समस्याको समाधान गरी रोजगारी सिर्जना, जनताको विकास समृद्धिका लागि नेकपा एमाले काम गरिरहेको बताउँदै नेकपा एमालेको विकास देखेर चारैतिरबाट प्रहार भैरहेको उल्लेख गरे ।
२०१५ सालको आम निर्वाचनमा रौतहटको चारै क्षेत्रबाट एमाले विजयी भएको इतिहासलाई स्मरण गर्दै आगामी २०८४ मा पनि जिल्लाको सबै निर्वाचन क्षेत्र एमालेको झन्डा फहराउनु पर्ने अपेक्षा एमालेको रहेकोले संगठित भएर पार्टीमा लाग्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेकपा एमालेमा १५ वर्ष बसेर देशको प्रधानमन्त्रीसमेत बनिसकेका माधव कुमार नेपालले रौतहटको जनतालाई ठगी मात्र गरेको टिप्पणी गरे ।
पटक–पटक मत लिएर निर्वाचित भएका नेपालले रौतहटमा केही विकास नगरेकोले अबको निर्वाचनमा जनताले बहिष्कार गर्ने समेत विश्वास व्यक्त गरे । उनले चैत्र १५ मा भएको लुटपाट आगजानीको घटना संलग्न रहेकालाई सरकारले कानुनी दायारामा ल्याएर कडा कार्यवाही गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भने, ‘मुलधारको पार्टी विरुद्ध च्याउझैं उम्रिएका पार्टी २ वर्ष नबित्दै काण्डै काण्डमा परि सके ।’
गरिब, दलित, अपाङ्ग, महिला, मजदुर किसानको समस्यालाई मध्य नजर गर्दै वर्तमान सरकार निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्र अघि बढी रहेको अवस्थामा केही विकास विरोधी तत्वले बिना कारण सरकारको आलोचनामा लागी परेको जिकिर गरे ।
एमालेको नेतृत्वमा मुलुक समृद्धितर्फ अग्रसर भइरहेको दावी समेत गरे । पार्टीले मिसन २०८४ लाई सफल बनाउन अघि बढी रहेकोले पार्टीका कार्यकर्ताहरुले इमान्दारितापूर्वक कार्य गर्न आग्रह गरे । पार्टीको विरुद्ध तथा जनताको भावना विपरीत कार्य गर्ने आफै समाप्त भएर जाने बताए ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले माधव कुमार नेपाल जनतालाई पटक–पटक ठगिँदै आएको आरोप लगाए ।
जनतासँग मत लिएर निर्वाचित भएका नेता नेपालले रौतहटको दलित र मुस्लिमप्रति शिक्षाको विषय लिएर गरेको अभद्र टिप्पणीको जवाफ आगामी निर्वाचनमा पाउने बताए ।
इन्चार्ज गुप्ताले रौतहटका जनताले माधव नेपाललाई लखेटिने समेत बताए । अधुरो पुल निर्माणको कार्य नेकपा एमालेको पहलमा सुचारु भएको दावी उनको रहेको छ ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई लालबकैया नदीबाट उत्खनन् गरिने माटोको प्रति लगाइएको कर फिर्ता लिन आग्रह समेत गर्दै जनभावना विपरीत काम नगर्न सुझाव समेत दिए ।
उद्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा, केन्द्रीय लेखा आयोगका सदस्य राज किशोर प्रसाद यादव, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश सांसद जयचन्द पटेल, मोहमद जैद आलम, प्रदेश कमिटी सदस्य श्याम सुन्दर पटेल, जिल्ला अध्यक्ष सचितानन्द साहले आ–आफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया