राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कार्य समिति रौतहटले जिल्लामा देखिएका समस्या समाधान गर्नु पर्ने माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा रहेको समस्याको समाधानका लागि १९ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।
जिल्ला अध्यक्ष कमल यादवको नेतृत्बमा गएका नेकपा एसका कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा बागमती र लालबकैया नदीमा रहेको आफ्नै जग्गामा रहेको माटो आफ्नो घरमा प्रयोगको लागि ल्याउदा लगाइएको बिभिन्न कर हटाउनु पर्ने, बन्द रहेको चिनी मिल सुचारु गरी उखु किसानको रकम भुक्तानी दिनु पर्ने माग गरिएको छ ।
विगत १४ वर्षदेखि बागमती नदीको बडहरबा नजिक अलपत्र अवस्थामा रहेको पुल छिटो सुचारु गर्नु पर्ने, टिकुलिया घाटमा अधुरो रहेको पुलको निर्माण अभिलम्भ निर्माण सम्पन्न गराउनु पर्ने माग उल्लेख गरिएको छ ।
बागमती नदी र लालबकैया नदीको बेड लेबल माथि आएको कारण बर्षेनी डुवान हुदै आएकोमा माटो खनी बेड लेबल व्ययस्थापन,बालबालिकालाई विद्यालयको पहुच पालिकालाई लिने व्यवस्था गर्नु पर्ने, मिटर व्याजी, कालो बजारी,जातीय विभेद, छुवाछुत र भ्रष्टाचार विरुद्ध प्रभावकारी कदम चाल्नु पर्ने, जनताले पाउनु पर्ने सेवा सुबिधा तोकिएको समयमा पाउनु पर्ने व्यवस्था गर्नु पर्ने माग गरिएको छ ।
मल, बीउ, ऋण, पानी, बीमा, भण्डारण, प्राविधिक सेबा, कृषि औजार जस्ता सबै क्षेत्रको व्यवस्थापनको स्थानीय तहको नेतृत्वमा कृषि तथा कृषि सम्बन्ध सहकारीलाई दिनु पर्ने, जिल्लालाई औद्योगिकीकरण गर्न उपयुक्त मुल्यमा जमिन,सस्तो बिधुत,न्युनतम कर र सहज प्रशासनिक प्रक्रियाको व्यवस्था हुनु पर्ने उल्लेख गरिएको छ ।
नेकपा एसका नेता एवम् गौर नगरपालिकाका प्रमुख शम्भु साहले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मूल नाराका साथ जिल्लामा रहेका समस्याको पहिचान गरी समाधानको लागि ज्ञापन पत्र बुझाइएको बताएका छन्। ज्ञापन पत्र बुझाउन नेकपा एसका जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया