इमरान खान, कपिलवस्तु । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मनाउने भएको छ ।
कोषले शनिबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने कार्यक्रमहरूबारे जानकारी गराएको हो ।
कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । तीनदिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लामाले बताए ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
२५६९औं बुद्धजयन्ती एवंम लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।
अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार–प्रसार र रामग्राम देवदह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यावस्था तथा स्वयम सेवक व्यावस्था उपसमिति बनेको कोषले जनाएको छ ।
कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यावस्था उपसमिति, परिषद सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभायात्रा, प्रसाद वितरण तथा भोजन व्यावस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मधु साजसज्जा तथा सरसफाई व्यावस्था उपसमिति बरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रकाशन वितरण तथा कार्यक्रम व्यावस्था उपसमिति गठन गरी कामहरु भैरहेका राईले बताए ।
वैशाष २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष एवं प्रचार संयोजक भट्टराईले बताए ।
विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यज्यूहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत महभागिता रहने उनले बताए ।
तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।
यसका साथै वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, कपिलवस्तु जिल्लाको प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँने उनले बताए ।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तु जिल्लाको गौतम बुद्धको दरबार तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।
लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा हरिध्वज राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया