काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले मुक्कुमलुङमा केवलकार बनाउने दुस्साहस भए विद्रोह हुने चेतावनी दिएका छन् ।
मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलिय संघर्ष समितिद्वारा मंगलबार काठमाडौको चुम्लुङमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने, ‘मुक्कुमलुङमा केवलकार निर्माण थाले अनर्थ हुन्छ, लिम्बु लगायत उत्पीडितहरुले बिद्रोह गर्छ, नश्लवादीको पतन शुरु हुन्छ र यसको सम्पुर्ण जिम्मेवारी राज्यको हुनेछ ।’
देशमा औपनिवेशिक एकल राष्ट्र राज्य शासन भएकोले बहुल संस्कृति माथि आक्रमण भएको भन्दै उनले भने, ‘खोट राज्यको संरचनामा छ, शासन पद्धतिमा छ । यो सभ्यता र संस्कृति बिरोधि राज्य हो । सभ्यता र संस्कृति मासेर बिकास हुँदैन, झन बिनास हुन्छ ।’
सबै समस्याको समाधान गर्न राज्यको एकल चरित्र बाट बहुल बनाउनु जरुरी रहेको उनले जिकिर गरे । ‘राज्यको चरित्र अनुसार अदालत पनि हुने हो । आदालतलाई सोधेर वा कानुन सम्झेर हिजो आन्दोलन गरेको होइन, अदालतले त भएको कानुन अनुसार फैसला गर्ने हो। हाम्रो भनाइ कानुन नै बिभेदकारी छ भन्ने हो । भएको संविधानको पनि बिपरित छ भन्ने हो। त्यसकारण कोहि हौसिएर मुक्कुमलुङलाई बिकृत बनाउने गरी केवलकार निर्माणको प्रयास सहै हुनेछैन,’ उनले भने ।
‘मैले मुक्कुमलुङ पुगेर त्यहाँको पवित्र माटो हातमा उठाएर कसम खाएको छु, देवीसँग आशिर्वाद थापेको छु । त्यहाँको पबित्रतामा कुनै आँच आउन नदिन लिम्बूसँगै लडेको छु, लडिरहने छु। केवलकार बनाउन खन्ने खाडलमा नै अब नश्लीय ओली प्रवृत्ति पुरिने’ उनले चेतावनी दिए ।
कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा. डा. महेन्द्र लावतीले मुक्कुमलुङमा केवलकार बनाउने नाममा करोडौंको भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
अझै भ्रष्टाचार गर्न र भ्रष्टाचारी हुनबाट जोगिन त्यहाँ केवलकार बनाउन चाहेको उनले बताए । कार्यक्रममा संविधान सभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका सन्जुहाङ पालुङ्वा, श्रीलिन्खिम लगायतले मन्तब्री राखेका थिए ।
तपाईको प्रतिक्रिया