काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् ।
काठमाडौं सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए ।
‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईरहेको छ । एयरपोर्टबाटै सरकारकै संलग्नता एवं सेटिङमा भईरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साधनु र गृहमन्त्रीजी प्रतिक्रिया विहिन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ ।’
नक्कली भुटानी शरणार्थी घटनालाई नै विर्साउँने गरी एयरपोर्टबाटै भिटिज भिसाको नाममा भईरहेको मानव तस्करी घटनामा प्रधानमन्त्री ओली किन मौन बसेको भन्दै उनले प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै भने, ‘एयरपोर्टबाट खुलेयाम मानव तस्करीको बिषय सार्वजनिक भईराख्दा प्रधानमन्त्री ओली बोल्नुपर्दैन ? के यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्दैन् ? यो गम्भिर प्रश्न हो, सरकारले जवाफ दिनुपर्छ, अलिकति नैतिकता छ भने नैतिकता प्रदर्शन गर्नुपर्छ ।’
एयरपोर्टबाटै सरकारकै संलग्नता र प्रत्यक्ष सेटिङमा भिजिट भिसाको नाममा भईरहेको मानव तस्करी घटनाले नक्कली भुटानी शरणार्थी काण्ड समेत विर्साउने गरि रहेको टिप्पणी उनले गरे । उनले भने, ‘हाम्रै चेलीबेटी समेतलाई बेचेर लुट्ने सरकारको विकल्प खोज्नुपर्छ । भुटानी शरणार्थी घटनालाई विर्साउने गरी भईरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरुको संलग्नता देखियो ।’
पहिला पनि कांग्रेस–एमालेकै नेताहरु प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएकै बिषय भएको बताउदै उनले अहिले पनि नेपाली चेलिबेटी समेतलाई लुटने, मानव तस्करी गर्ने काम दुई तिहाईको शक्तिशाली सरकारले गर्नु दुखद भएको बताए ।
तपाईको प्रतिक्रिया