जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई.बसन्त कुशवाहाले एक लाख रोजगारी सिर्जना गर्ने उद्घोष गरेका छन् ।
जनमत पार्टीका उपाध्यक्षसमेत रहेका मन्त्री ई.कुशवाहाले भनेका छन्, ‘मैले यो मन्त्रालयको जिम्मेवारीमा रहुन्जेल एक लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छु ।’ उनले सोहीअनुसार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने काम जारी रहेको जनाएका हुन् ।
उनले नयाँ वा थप रोजगारी सृजना गर्ने आइडिया, प्रस्ताव, सम्भाव्यता, योजना वा कार्यक्रम भए विभिन्न माध्यमबाट जानकारी गराउन अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको रूपमा कार्यभार शुरू गरेको अवसरमा बिभिन्न माध्यमबाट कार्यकालको शुभकामना दिनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद ।’
जनमत पार्टीले चुनावताका १० लाख रोजगारीको प्रतिबद्धता जनाएको थियो । सोहीअनुसार उद्योगमन्त्री कुशवाहाले यो एउटा सुरुवात मात्र रहेको बताएका छन् ।
कुशवाहा यसअघि केही दिनका लागि कृषिमन्त्री रहेका थिए । सो अवधिमा उनले कृषि क्षेत्र र किसानका लागि निकै महत्वपूर्ण योजनाहरु ल्याएका थिए । तर, उनी मन्त्रीबाट हटेपछि उनका योजनाहरु कार्यान्वयनमा आएन ।
तपाईको प्रतिक्रिया