काठमाडौं । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरिकै वडा र पालिका स्तरमा शुभकामना कार्यक्रम गर्न निर्देशन दिएको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बुधबार प्रेस विज्ञप्ति जारी गरी गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै यस्तो निर्देशन दिएका हुन् ।
प्रवक्ता डा.यादवले भनेका छन्, ‘गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रको स्मरण गर्ने दिन हो । नेपालमा एकात्मक निर्दलीय राजतन्त्रको अन्त्य गर्दै जनताको अधिकार, समानता र समावेशितालाई मूर्त रूप दिन स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिकलाई देशको साँचो मालिक बनाएको छ । गणतन्त्रमा सार्वभौमसत्ता जनतामा अन्तर्निहित रहेको छ र यसले शासनको स्रोत जनतालाई बनाएको छ – जहाँ सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ । यसले जात, भाषा, धर्म, लिंग वा वर्गको भेदभावलाई अस्वीकार गर्दै सबै नागरिकलाई समान अधिकार र अवसरको प्रत्याभूति दिलाएको छ ।’
जनमत पार्टी जनताको अधिकार, आत्मनिर्णय र समृद्धिको पक्षमा दृढ उनले उल्लेख गरेका छन् । वर्तमान व्यवस्थामा देखिएका कमी–कमजोरीको समाधानको लागि हामी “नौलो गणतन्त्र“ को अवधारणा लिएर अगाडि बढिरहेको उनले बताएका छन् ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संवैधानिक निकायका प्रमुखहरू पनि प्रत्यक्ष निर्वाचित हुने, विज्ञहरूद्वारा मन्त्रालय चलाइने र सामाजिक लोकतन्त्रको आर्थिक नीति अवलम्बन गर्ने अवधारणा नौलो गणतन्त्रले लिएको छ । उनले भनेका छन्, ‘यो गणतन्त्र दिवसको अवसरमा हामी सबै मिलेर यथार्थपरक र जनमुखी नौलो गणतन्त्र निर्माणतर्फ अगाडि बढौं ।’
यस अवसरमा जनमत पार्टीले देशभरिकै सम्पूर्ण पालिका र वडामा आफूलाई सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाई कार्यक्रम वा मैनवत्ती प्रज्जवलन आदि कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने निर्णय गरेको उनले जनाएका छन् ।
तपाईको प्रतिक्रिया