काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ई.दीपक कुमार साहले “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” माथि समर्थन जनाउँदै ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले नेपालको अर्थतन्त्र विरोधाभासपूर्ण अवस्थामा रहेको उल्लेख गरे। बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता थुप्रिए पनि पूर्वाधार, जलविद्युत्, प्रसारण लाइन र राष्ट्रिय गौरवका आयोजनाहरू स्रोत अभाव र ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको उनको भनाइ थियो।
सांसद साहका अनुसार निष्क्रिय पूँजीलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्न सके राष्ट्र ऋणले खर्च मात्र होइन, आम्दानीसमेत सिर्जना गर्न सक्छ। उनले हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारण लाइन समयमै सम्पन्न भएको भए ऊर्जा र उद्योग क्षेत्रले थप लाभ लिन सक्ने उदाहरण प्रस्तुत गरे।
उनले दक्षिण कोरिया र चीनको विकास अनुभव उल्लेख गर्दै बैंकिङ क्षेत्रमा रहेको बचतलाई पूर्वाधार विकासमा उपयोग गरेर ती देशले तीव्र आर्थिक वृद्धि हासिल गरेको बताए। ऋण आफैं समस्या नभई यसको उपयोगको क्षेत्र निर्णायक हुने उनको तर्क थियो।
सांसद साहले ऋणलाई उपभोग होइन, ऊर्जा, सिंचाइ, प्रसारण लाइन र औद्योगिक पूर्वाधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयोजना कार्यान्वयनलाई छिटो र प्रभावकारी बनाउन नीतिगत स्थिरता र एकद्वार प्रणाली आवश्यक रहेको बताए।
उनले सही क्षेत्रमा लगानी गरिएको ऋण भविष्यको बोझ नभई समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गर्दै विधेयकको समर्थन गरेका हुन्।
तपाईको प्रतिक्रिया