जनकपुरधाम, १९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार आयोजना गरेको प्रदेश समन्वय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानले नै तीनै तहका सरकारबीच सह–अस्तित्वको परिकल्पना गरेकाले सोही भावना अनुरुप अगाडी बढनु पर्ने बताए ।
प्रदेशको समग्र विकास तथा प्रदेश सरकार र स्थानीय तह बीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको एकीकृत विकासका लागि एक अर्काको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
संविधानले व्यवस्था गरेको कतिपय धाराले प्रदेश र स्थानीय तहबीच नङ्गमासुको सम्बन्धको कायम रहेको बताउँदै उनले प्रदेश र स्थानीय सरकारलाई एक अर्काको परिपुरक बनाउन पर्ने उल्लेख गरे ।
संघीयता अहिले कार्यान्वयनको चरणमा रहेकाले जनतामा वितृष्णा बढ्ने कार्यं कतैबाट हुन नहुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले कुनै प्रकारको कर वृद्धि नगर्न स्थानीय प्रमुख उपप्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।
विगतको अवस्थाले यस क्षेत्रमा व्यापक अनियमतताहरु भएको टिप्पणी गर्दै उनले अबको दिनमा जनतालाई सुशासनको अनुभूति हुने गरि कार्य गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गरेका हुन् । उनले प्रदेश भित्र भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकारले सुशासन आयोग गठन गर्न लागेको जानकारी समेत गराएका छन् ।
उनले संविधानका त्रुटीका कारण जिल्ला समन्वय समितिलाई अपांङ्ग बनाइएको बताउँदै त्यस समस्याको समाधान गरि जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन प्रदेश सरकार सकारात्मक रहेको समेत बताए ।
एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले विगत लामो समयदेखि स्थानीय तहमा काम गर्दै आएका सामाजिक परिचालकहरुलाई व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघीय सरकारले गरेको बजेटको बाँड भएको अव्यावहारिक रहेको बताएका छन् । संघीयतामा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा संघ सरकारले कुल बजेटको ७० प्रतिशत आफ्नै मातहतमा राखेर बेइमानी गरेको बताए ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहरु, स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया