काठमाडौं, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना कर्मचारीका लागि भारतको गुजरातस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा ६ दिने तालिम सुरु भएको छ ।
उनीहरुलाई भारतीय अधिकारीले ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा ६ दिनसम्म प्रशिक्षण दिने छन् ।
‘नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्ष हो’ काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो कार्यक्रममा भारत सरकारको पूर्ण सहयोग रहेको छ । कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत सञ्चालित छ ।
भारतीय दूतावासका अनुसार आयोगका कर्मचारीको यो पहिलो ब्याच हो । दोस्रो ब्याचका २१ जना कर्मचारीले पुस २६ गतेदेखि माघ २ गतेसम्म गुजरातमै प्रशिक्षण लिने छन् ।
तपाईको प्रतिक्रिया