अझै दुई हजार चिनियाँ अपराधी नेपालमा !

समाचार

12/25/2019

काठमाडौं, ९ पुस । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ ।

पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ